‘मे १’ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । बंगलादेशमा विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइएको छ । बंगलादेशका श्रमिकहरूले आफ्नो हक–अधिकार र व्यावसायिक सुरक्षाको माग गर्दै यो दिवस मनाएका हुन् । राजधानी ढाका लगायतका प्रमुख औद्योगिक शहरहरूमा आज बिहानैदेखि विभिन्न मजदुर सङ्गठन र ट्रेड युनियनहरूले ¥याली तथा विरोध प्रदर्शनहरू आयोजना गरेका थिए । विशेष गरी बंगलादेशको अर्थतन्त्रको मेरुदण्ड मानिने गार्मेन्ट क्षेत्रमा कार्यरत हजारौँ श्रमिकहरू सडकमा ओर्लिएर उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल र श्रम कानूनको पूर्ण कार्यान्वयनको माग गरेका छन् । प्रदर्शनका क्रममा श्रमिकहरूले रङ्गीचङ्गी ब्यानर, प्लेकार्ड र झण्डाहरू बोकेका थिए । ढाकाको मुख्य सडकहरूमा निकालिएका ती ¥यालीहरूमा श्रमिकहरूले आफ्नो ऐक्यबद्धता जनाउँदै श्रम शोषण अन्त्य हुनुपर्ने नाराहरू लगाएका थिए । सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको श्रमिक आन्दोलनको स्मरणमा हरेक वर्ष मे १ तारिखलाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइने गरिन्छ ।




