बैशाखमा महिला तथा पुरुष भलिबल लिग हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

बैशाखमा महिला तथा पुरुष भलिबल लिग हुने

काठमाडाैं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अर्को महिना हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा आगामी वैशाख १० देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको हो । महिलामा ६ टोली र पुरुषमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुषतर्फ एनभिए च्याम्पियनसिपबाट छनोट भएका ८ टोली र महिलातर्फ ६ टोली गरी कुल १४ टोलीको सहभागिता रहनेछ ।

पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब सहभागी छन् ।

महिलातर्फ न्यु डाइमन्ड युथ स्पोट्र्स क्लव, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लव, सुदूरपश्चिम प्रदेश, एभरेष्ट भलिबल क्लब र त्रिभूवन आर्मी क्लव (नेपाली सेना) ले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा महिला र पुरुष दुवै विधाका विजेताले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महिला र पुरुषतर्फका सर्वोत्कृष्ट खेलाडीलाई समान ६० हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार दिइनेछ । काठमाडौं उपत्यका बाहिरबाट सहभागी हुने टोलीलाई बसोबास तथा खानाका लागि प्रतिव्यक्ति दैनिक १,२०० रुपैयाँ र उपत्यकाभित्रका टोलीका सदस्यलाई ३०० रुपैयाँ उपलब्ध गराइनेछ। आयोजकका अनुसार प्रतियोगितामा करिव १ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा सहभागी टोलीहरूले अधिकतम तीन जना विदेशी खेलाडीसमेत समावेश गर्न पाउने नेपाल भलिबल संघले जनाएको छ ।

Leave a Reply