काठमाडाैं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने बताउनुभएको छ । सिंहदरवारमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने भएकोले संसदलाई मर्यादित र अनुशासित बनाउनुपर्ने बताउनुभएको हो ।
संसद सञ्चालनको लागि उच्च राजनीतिक संस्कृतिको आवश्यकता हुने उहाँले बताउनुभयो । संसदभित्र देखिने वैचारिक घर्षणलाई सन्तुलित गर्दै सभामुखले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । सभामुखको मुख्य दायित्व सांसदहरूको विशेषाधिकारको रक्षा गर्नु, संसदको गरिमा कायम राख्नु तथा त्यहाँ हुने वादविवाद, प्रतिवाद र संवादलाई निष्पक्ष रूपमा संयोजन गर्नु भएको उहाँले बताउनुभयो । उहाँले सभामुख संसदको प्रवक्ता तथा संसदीय अधिकारको प्रमुख रक्षक भएको उल्लेख गर्दै पारदर्शिता, अनुशासन र मर्यादा कायम राख्नुपर्नेमा विशेष जोड दिनुभयो ।
सभामुखले संविधान, प्रतिनिधिसभा नियमावली तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संसदीय मान्यताका आधारमा निर्णय लिनुपर्ने उहाँको भनाइ छ । ज्येष्ठ सदस्य केसीले सभामुख कुनै एक पक्षको नभई सम्पूर्ण प्रतिनिधि सभाको साझा पद भएको उल्लेख गर्दै सबै पक्षलाई समेटेर एकता कायम व्यक्ति सभामुख हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले बैठक सञ्चालन गर्न सभामुखको मर्यादालाई ख्या राख्ने उल्लेख गर्नुभयो ।
ज्येष्ठ सदस्य केसीले बिहीवार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई शपथ खुवाउनुभएको थियो । प्रतिनिधि सभामा सभामुखको चयन नभएसम्म ज्येष्ठ सदस्य केसीले सभाको बैठक सञ्चालन गर्नुहुनेछ ।





