काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुशासनलाई आफ्नो मूल मन्त्र बनाउँदै सार्वजनिक सेवामा सुधार र डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । पद तथा गोपनीयताको शपथ लिनुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल ऐतिहासिक रूपमा पुरानो देश भएपनि संस्थागत अभ्यासको दृष्टिले पछाडि रहेको उल्लेख गर्दै राज्य सञ्चालनमा प्रणालीगत सुधार अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँले देशको पहिचान र अस्तित्व पुरानो भएपनि संस्थागत अभ्यास कमजोर रहेको औंल्याउँदै प्रभावकारी शासनका लागि आधुनिक प्रणाली र नीतिगत स्पष्टता आवश्यक रहेको बताउनुभयो ।
मुलुकलाई संस्थागत राजकाजको अभ्यासतर्फ अघि बढाउने विषय पार्टी र सरकारको प्राथमिकतामा रहने उहाँको भनाइ छ ।





