काठमाडाैं । पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यका अनुसार पोखराभित्र कति घर छन् र नागरिकको आर्थिक अवस्था के छ भन्ने कुरा विगतमा केवल अनुमानका भरमा चल्ने गरेको थियो । तर अहिले महानगरले ‘प्राइमरी डेटा’ नै संकलन गरेर हरेक घरको विस्तृत विवरण तयार पारेको छ ।
यस तथ्याङ्क अनुसार पोखरा महानगरपालिकाभित्र एक लाख ४८ हजार ७२५ घरहरू रहेका छन् । यो तथ्यांक संकलनका क्रममा कुन घर गरिबीको रेखामुनि छन्, को बेरोजगार छ, को रोजगार छ र कुन परिवारको आर्थिक अवस्था कस्तो छ भन्ने सबै विवरण निकालिएको छ । यसै तथ्याङ्कका आधारमा पोखरालाई नेपालको सबैभन्दा धनी शहरको रूपमा स्थापित गर्न र लक्षित वर्गका लागि प्रभावकारी योजना बनाउन सजिलो भएको मेयर आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पोखराभित्र कति घर छन् । यसको स्टाटस के हो भन्ने कुरा चाहीँ विभिन्न खालका अनुमानका कुरा थिए । हामीले प्राईमरी डेटा नै लिएर हरेक हरेक घरको डेटा लिएका छौँ । यो भनेको एक लाख ४८ हजार ७ सय २५ घर छ । कति घर गरिवीको रेखामुनि छन् । को बेरोजगार छ, को रोजगार छ ? यी सबै अवस्था निकालेका छौँ । यसको कारणले गर्दा पोखरा नेपालको सबैभन्दा धनी शहरको रुपमा पनि स्थापित छ ।’
यो डेटाबेसले महानगरको राजश्व संकलन, शहरी योजना र सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्न एउटा बलियो जग खडा गरेको छ । अनुमानका भरमा बजेट बाँड्ने परिपाटीलाई अन्त्य गर्दै तथ्यमा आधारित विकासको मोडल पोखराले शुरु गरेको उहाँको भनाइ छ ।





