काठमाडाैं । विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई स्वदेशमा भित्र्याउन सहज वातावरण निर्माण गर्ने उद्देश्यले सरकारले नीतिगत र कार्यगत सुधारका कामहरू तिब्र पारेको छ । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली लक्षित विभिन्न नयाँ संयन्त्र र कानून निर्माणको काम अघि बढाएको जानकारी दिनुभएको हो ।
गैरआवासीय नेपाली संघको १२ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परराष्ट्र मन्त्रालयमा ‘श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा’ स्थापना गरी काम शुरु भइसकेको घोषणा गर्नुभयो । महाशाखाले प्रवासी नेपालीहरूका समस्या समाधान र नीतिगत सुधारमा प्रत्यक्ष काम गर्नेछ ।
लगानीको वातावरण सहज बनाउन र नेपालको संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेको अधिकार सुनिश्चित गर्न ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४’ परिमार्जनको प्रक्रिया अघि बढेको मन्त्री शर्माले जानकारी दिनुभयो । मन्त्री शर्माले आगामी दिनमा सरकारले विदेशमा रहेका नेपालीहरूको यकिन विवरण राख्न ‘एकीकृत तथ्याङ्क व्यवस्थापन प्रणाली’ को विकास गर्ने योजना रहेको समेत बताउनुभयो ।
साथै, गैरआवासीय नेपालीहरूको सीप र लगानीलाई नेपालसँग जोड्न ‘फरेन गेटवे सेन्टर’ सञ्चालनमा ल्याइने र यस्ता पहलहरूलाई प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिवद्धता मन्त्री शर्माले व्यक्त गर्नुभयो ।





