काठमाडाैं । काठमाडौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हावाहुरीसहित पानी परेको छ । चितवन, गोरखा र उदयपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै गोरखा, लमजुङ, इलाम, झापा, सिन्धुपाल्चोक र नुवाकोटमा पनि मध्यम वर्षा भएको छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली र वर्षा भएको हो ।
आज पनि कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । योसंगै वायु प्रदुषण पनि घटेको छ । आज बिहान काठमाडौ उपत्यकाको वायुको गुणस्तर एक्यूआई ३४ मा झरेको छ, । यो स्वास्थ्यका दृष्टिले राम्रो र सुरक्षित मानिन्छ ।
बुधबारसम्म एक्यूआई १ सय ५० भन्दा माथि रहेकोमा आज ३४ मा झरेको हो । यसअघि कारब एकसातादेखि काठमाडौको हावाको गुणस्तर सूचकाङ्क एक्यूआई २ सयसम्म पुगेर स्वास्थ्यका दृष्टिकोणले हानिकारक स्तरमा पुगेको थियो ।वर्षासँगै हावामा रहेको धुलो तथा धुवाँका कणहरू बाहिरिएपछि वायुको गुणस्तरमा सुधार आएको छ ।





