काठमाडाैं । सर्लाही क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहलाई प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बधाई ज्ञापन गर्नुभएको छ ।
थापाले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिंहलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिंह ३५ हजार ६८८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस सभापति थापाले २२ हजार ८३१ मत प्राप्त गर्नुभएको छ ।
कांग्रेस सभापति थापाले आफूलाई माया, विश्वास र मत दिनुहुने सर्लाही–४ का सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँले यस क्षेत्रमा देखिएका समस्याहरूको सम्बोधन गर्न आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तररूपमा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।





