काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विजयी हुने उम्मेदवारहरूलाई विजयोत्सव नमनाउन निर्देशन दिएको छ । चुनाव आउनुमा जेनजी आन्दोलनको भूमिका रहेको र अहिले पनि जेनजी उमेर समूहका छोराछोरी गुमाएका पीडा कम नभएकाले उत्सव नमनाउन रास्वपाले निर्देशन दिएको हो ।
रास्वपा उपसभापति डीपी अर्यालले भने- ‘देशभरिबाट घण्टी चुनाव चिन्ह लिएर आउने उम्मेदवार जित्दै हुनुहुन्छ । निर्वाचित भएपछि अबिर जात्रा गर्ने आफ्ना सुख दुख साट्ने र घरदैलोमा र्याली गर्ने चाहना हुन सक्छ । तर यो निर्वाचन आउनमा हाम्रा साना नानी बाबूहरुले, जेनजी उमेर समूहका छोराछोरीले ज्यान गुमाएको पीडा कम हुन सकेको छैन ।’
यस्तै उनले जनताले आफूहरूलाई सरकार बनाएर जनताका लागि काम गर्न म्याण्डेट दिएको उल्लेख गर्दै काम गरेपछि घरदैलोमा गएर धन्यवाद दिन सकिने बताए ।
उनले मतगणनास्थलमा मात्र धन्यवाद दिन र बाहिर कुनै पनि र्याली र अबिर जात्रा नगर्न नगराउन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाट नै निर्देशन भएको स्मरण गराए ।





