भरतपुर,२ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता अन्तिम चरणमा पुगेको र आफू ढिलोचाँडो प्रधानमन्त्री बन्नेमा चितवनवासीलाई ढुक्क रहन आग्रह गरेका छन् । ‘म ढिलोचाँडो प्रधानमन्त्री भई नै हाल्छु,’ उनले भने, ‘तपाईंहरू ढुक्क हुनुस् ।’
भरतपुर महानगरपालिका ८ मा रहेको शरदपुर माविको ४३ औं वार्षिकोत्सव तथा नवनिर्मित विद्यालय भवन उदघाट्न गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले दुई पार्टीको स्पिरिटअनुसार नै आफू प्रधानमन्त्री बन्ने निश्चित भएको दाबी गरे ।
कार्यक्रममा कांग्रेसका जिल्ला नेताले दाहाललाई प्रधानमन्त्री भएर आउन शुभकामना दिएका थिए । एकता प्रक्रियामा दुवै अध्यक्षबीच सबै कुरा सहमतिनजिक पुगेकाले एक दुई दिनमा पार्टी एकता हुने उनले स्पष्ट पारे । भवन उद्घाटनअघि पार्टी एकतापछि दुवै जना अध्यक्ष हुने सहमति भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा दाहालले हाँसेर टारे तर कुनै प्रतिक्रिया दिएनन् । विद्यालय भवन उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले गणतन्त्र प्राप्तिका लागि आजको दिनबाट नै जनयुद्ध सुरुवात भएको स्मरण गर्दै नेपालकै लागि विशेष दिन भएको बताए । तीन दिनअघि गृह जिल्लाको विभिन्न कार्यक्रममा सहभागी भई राजधानी फर्केका दाहाल विद्यालय भवन उद्घाटन कार्यक्रममा सहभागी हुन हेलिकप्टरबाट यहाँ आएका हुन् ।
दाहालले नेपालमा शान्ति प्रक्रिया टुंगिएको र विश्वकै लागि उदाहरण भएको उल्लेख गरे । ‘नेपालको शान्ति प्रक्रिया अमेरिका या युरोपजस्तो देशमा सहज रूपमा टुंगिएको भए स्व. गिरिजाप्रसाद कोइराला र आफूले नोबेल पुरस्कार पाउने थियौं,’ दाहालले भने, ‘नेपाल गरिब राष्ट्र भएकाले यसतर्फ कसैको ध्यान पुगेन ।’ नेपालमा ३ वटा मात्र राष्ट्रिय पार्टी भएको र दलबीच समझदारी बनाउने काम आफ्नो प्राथमिकतामा पर्ने दाहालले जनाए । एकले अर्कालाई निषेध गर्ने नभएर सबैको समझदारीबाट नयाँ विकासको यात्रा सुरु गर्ने उनको भनाइ थियो ।
दाहाललाई धपेडी
प्रतिनिधिसभा निर्वाचनपछि पटकपटक गृह जिल्ला आएका अध्यक्ष दाहाललाई केही समययता निकै धपेडी परेको छ । गएको शनिबार दाहाल यहाँ विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त भएका थिए । प्राय जहाजबाट आउने दाहाल यसपटक व्यस्तताले हेलिकप्टर चढ्नुपर्यो । उनले विमानस्थलमा पटकपटक पत्रकार भेटघाट नगर्न आग्रह गरेका थिए । ‘म आएको आयै हुन्छु,’ उनले भने, ‘सधैं पत्रकार भेटघाट कार्यक्रम नराख्नुस् । भरतपुर विमानस्थलमा उनी जहिले पनि हतारमा हुन्थे । समय अभावले दाहाललाई निकै धपेडी परेको उनका जिल्ला नेताले बताए । आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।