विक्रम श्रेष्ठ
काठमाडौं, १ फागुन । राजनीतिक अधिकार प्राप्तीका लागि भन्दै तत्कालिन माओवादीले बन्दुक उठाएको २२ बर्ष पुरा भएको छ । १० वर्षे सशस्त्र आन्दोलन गर्दै माओवादी शान्तिप्रक्रियामा आएको पनि ११ वर्ष पुरा भइसकेको छ ।
तर, एउटै लक्ष्य लिएर हतियार उठाएका माओवादी २३ औं जनयुद्ध दिवस मनाइरहँदा टुक्रा-टुक्रामा विभाजित भएको छ । जसले सशस्त्र आन्दोलनको औतित्यमाथि नै प्रश्न उठाएको छ ।
विक्रम संवत २०५२ फागुन १ गतेबाट सुरु भएको सशस्त्र संघर्ष नै गणतन्त्र प्राप्तीको मूल आधार भएको माओवादी नेताहरुको दाबी छ । साथै हाल प्राप्त गणतन्त्र, संघियता, धर्म निरपेक्षता जस्ता परिवर्तनको आधार नै जनयुद्ध भएको उनीहरुको ठहर छ ।
आफूलाई राजनीतिक परिवर्तनको असली हिमायती ठान्ने माओवादी शान्ति प्रक्रियामा आएसँगै टुक्रा–टुक्रामा विभाजित भयो । तथापी सबै माओवादी शक्तिहरु फागनु १ लाई जनयुद्ध दिवसको रुपमा मनाइरहेका छन् ।
तर, शान्ति प्रक्रियापछिको सूरुवाती वर्षमा खुल्लामञ्चमा तामझामकासाथ मनाइने जनयुद्ध दिवस अहिले पार्टीको औपचारीक कार्यक्रममा सिमित भएको छ ।
मूल पार्टी नेकपा माओवादी केन्द्रले पार्टी पेरिसडाँडामा २३ औं जनयुद्ध दिवस मनाइरहँदा फुटेर गएका मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय सभा गृहमा संयुक्त रुपमा दिवस मनाए ।
जनयुद्ध समाप्तीको १२ वर्ष वित्नै लाग्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय राजनितिबाट अलग बसेर क्रान्ति सम्पन्न नहुने भन्दै बैद्य र चन्दलाई मूल पार्टीमा फर्कन आग्रह गरे ।
तर, दाहालले मूल पार्टीमा फर्कन आग्रह गरिरहँदा बैद्य र चन्द भने अझै सशस्त्र क्रान्तिको आवश्यकता रहेको भन्दै बन्दुक उठाउने चेतावनी दिइरहेका थिए ।
विभिन्न चिरामा विभाजन भएसँगै माओवादीको जनमत पनि कमजोर बन्दै गएको छ । साथै यसले महान क्रान्तिको सपना बोकेर युद्धमा होमिएकाहरुमा पनि निराशा पैदा गरेको छ । अर्थत माओवादीको सशस्त्र संघर्ष सत्ता प्राप्ती की समाज परिवर्तनका लागि भन्ने प्रश्न खडा गरेको छ ।