काठमाडाैं । नेकपा (एमाले)का केन्द्रीय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा रहेको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बडालले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिकै आधारमा लोकतान्त्रिक व्यवस्था खतरामा रहेको भाष्य निर्माण गरिनु नहुने जिकिर गर्नुभयो । उहाँले डिस्कोर्डबाट गठित सरकारले जेन–जी आयोगको अनुसन्धान प्रतिवेदन समयमै सार्वजनिक नगरेर एमालेलाई आरोपित गर्ने प्रयास गरिरहेकोप्रति आपत्ति बजनाउनुभयो ।
उहाँले आउने निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी पनि गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका नेता सुदेश पराजुलीले गलत प्रवृत्तिका विरुद्धमा जनता जागेको कारण जेन–जी विद्रोह भएको बताउनु भयो । आगामी निर्वाचन असत्य र गलत प्रवृत्तिविरुद्ध जनताको निर्णायक अभिव्यक्ति हुने उहाँको भनाइ छ । पछिल्लो समय देशमा देखिएको प्रवृत्तिलाई परास्त गर्न र संविधान तथा व्यवस्थाको संरक्षण गर्ने राजनीतिक शक्तिलाई स्थापित गर्न निर्वाचन महत्वपूर्ण अवसर भएको उहाँको तर्क छ । नेता पराजुलीले मतदातालाई लोकतान्त्रिक मूल्य, सत्य र संवैधानिक व्यवस्थाको पक्षमा उभिन आग्रहसमेत गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रामप्रसाद भट्टराईले जेनजी छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएको विषयमा सरकार, छानबिन समिति र एमालेबीच बार्गेनिङ भएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो । भट्टराईले निर्वाचनअघि प्रतिवेदन सार्वजनिक भए केही नेताको नाम आउने सम्भावना रहेको भन्दै त्यसै कारण प्रतिवेदन रोकिनुको आशंका रास्वपाले गरेको बताउनुभयो । भट्टराईले भदौ २४ को बिध्वंसभन्दा पहिले भदौ २३ आएको विषयलाई नबिर्सन आग्रह गर्दै केही राजनीतिक दलले जेनजी विद्रोहलाई आतंकवादको संज्ञा दिएकोप्रति आपत्ति जनाउनु भयो ।
उहाँले निर्वाचनबाट आफ्नो पार्टीले बहुमत ल्याउने दाबी पनि गर्नुभयो ।





