नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो

काठमाडाैं । नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तिब्र पारेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएसिया, माल्टा लगायत १६ वटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि औपचारिक प्रश्ताव पठाएको छ ।

श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेकाअनुसार राम्रो वातावरण भएका देशहरुमा नेपालीहरुलाई रोजगारीका निम्ति पठाउन श्रम सम्झौताका लागि गृहकार्य भइरहेको बताउनु भयो । उहाँकाअनुसार १६ देशसँग प्रश्ताव पठाइएको छ । परराष्ट्र मन्त्रालय र नेपालका सम्बन्धित दुतावासहरूले पनि यी मुलुकहरूसँग छलफल तथा पहल अघि बढाइरहेका छन् । सम्झौताको खाका र अनुरोधसहित प्रस्ताव पठाइएको बताउँदै उहाँले छिट्टै परिणामुखी सम्झौता हुने बताउनुभयो ।

अहिले क्रोएसिया, माल्टासहितका देशहरूमा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरू गएका छन् । अब संस्थागत रूपमा सुरक्षित र मर्यादित रोजगारीका लागि सम्झौता सरकारले गर्न खोजिरहेको छ ।

पछिल्ला वर्षहरूमा युरोपेली मुलुकहरू (विशेष गरी रोमानिया, क्रोएसिया, पोल्याण्ड, माल्टा, साइप्रस, पोर्चुगल  नेपाली वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बन्दै गएका छन् ।  यी देशहरूमा नेपाली कामदारहरूको संख्या बढ्दो छ, तर श्रम सम्झौता नहुँदा ठगी, शोषण र असुरक्षाको जोखिम रहँदै आएको छ । रोमानियासँग भने केही वर्षअघि नै श्रम सम्झौता भइसकेको छ, जसलाई अन्य मुलुकहरूका लागि उदाहरण मानिएको छ ।

Leave a Reply