काठमाडाैं । नेपाली क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याउने दृढता व्यक्त गर्नुभएको छ । मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्व प्रशिक्षक देसाईले आफ्नो जन्मस्थल र नेपाली क्रिकेटप्रतिको लगावलाई जोडेर यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले मुम्बईलाई आफ्नो घर र वानखेडेलाई प्राकृतिक परिवेश माने पनि नेपालको समर्थनका लागि आफूसँग ठूलो र विशेष कारण रहेको बताउनुभयो । नेपाली क्रिकेट टोलीको निरन्तर विश्वकप सहभागिताप्रति गौरव व्यक्त गर्दै देसाईले अब केवल प्रतिष्पर्धामा मात्र सिमित नभई जित निकाल्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले सन् २०२३ को ‘कोर ग्रुप’ ले अब नतिजा निकाल्नुपर्ने र यसले विश्वस्तरमा नेपाललाई थप पहिचान दिलाउने विश्वास व्यक्त गर्नुभयो । देसाईकाअनुसार विश्व मञ्चमा जित हात पार्नु आगामी पुस्ताका खेलाडीहरूका लागि प्रेरणाको मुख्य स्रोत बन्नेछ । उहाँले नेपाली प्रशंसकहरूको अटुट माया नै आफ्नो मुख्य प्रेरणा रहेको स्वीकार गर्नुभयो । मैदानमा टोलीको प्रदर्शनमा कहिलेकाहीँ एकरूपता नहुनसक्ने तर मैदान बाहिर समर्थन सधैं उत्कृष्ट र स्थिर रहेको बताउनुभयो ।





