दक्षिण कोरियाको ग्योन्गी प्रान्तमा सोमवार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । योन्हाप समाचार एजेन्सीकाअनुसार यस दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् र उनीहरूलाई मुटुको चाल बन्द भएको अवस्थामा अस्पताल लगिएको छ । राजधानी सोललाई घेरेको यस प्रान्तको गप्योङ काउन्टीमा स्थानीय समय अनुसार बिहान करिव ११ बजे उक्त हेलिकप्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परेका दुवै व्यक्तिलाई गम्भीर चोट लागेको छ । उडान प्रशिक्षणका लागि उडेको उक्त हेलिकप्टर दक्षिण कोरियाली सेनाको एएच–वानएस कोब्रा मोडेलको थियो । समाचारअनुसार यो हेलिकप्टर सेवाबाट अवकाशको प्रक्रियामा रहेको थियो । दुर्घटनाका क्रममा कुनै पनि विस्फोट वा आगलागी भएको छैन । अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गर्ने बताएका छन् ।




