काठमाडाैं । नेपालको निर्माण तथा भवन क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो जारी रहेको छ ।
भृकुटीमण्डपमा फागुन २२ देखि २५ गतेसम्म सञ्चालन भइरहेको यो ११ औं संस्करणमा आगन्तुकहरूको संख्या उल्लेख्य रहेको आयोजकको भनाइ छ । यो प्रदर्शनी निर्माण सामग्री, मेसिनरी, प्रविधि, डिजाइन तथा पूर्वाधारसम्बन्धी नवीनतम उत्पादन र सेवाहरूको प्रदर्शनका लागि महत्वपूर्ण प्लेटफर्म बनेको छ ।
नेपाल तथा भारत, चीन, जर्मनी, बेलायत लगायतका देशका सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू सहभागी छन् । यसले व्यवसायको सम्बन्ध स्थापित गर्न, नेटवर्किङ गर्न र नयाँ प्रविधि तथा अवसरहरूको बारेमा जानकारी लिन सहयोग पुर्याइरहेको छ । प्रदर्शनीको सफलता र आगन्तुकहरूको उत्साहजनक सहभागिता रहेको मिडिया सोलुसन्स प्रालिका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा आउने आगन्तुकहरूको संख्या निकै राम्रो रहेको छ र यो निर्माण क्षेत्रका पेशेवरहरू, व्यवसायी तथा घर निर्माणमा रुचि राख्ने सर्वसाधारणका लागि उपयोगी साबित भइरहेको छ ।
प्रदर्शनी दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ । प्रवेश निःशुल्क छ र पूर्व–पंजीकरण गरेर सहज रूपमा भ्रमण गर्न सकिन्छ । निर्माण तथा पूर्वाधार विकासमा चासो राख्ने सबैलाई यो अवसरको सदुपयोग गर्न आयोजकले आह्वान गरेका छन् ।






