काठमाडौं । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा तुँवालो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ। ती क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातसमेत भइरहेको छ। कोशी र मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने देशका अन्य भू–भागमा मौसम मुख्यतया सफा छ।
महाशाखाका अनुसार सोमबार दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ, जसका कारण जनजीवन प्रभावित हुन सक्छ। हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना पनि रहेको छ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्नेछ। हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहनेछ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा हुने महाशाखाले जनाएको छ।





