काठमाडाैं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा परिरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले हालको विश्वव्यापी अव्यवस्था (इन्टरनेशनल डिसअर्डर) ले नेपालमा राजनीतिक तथा अन्य क्षेत्रमा असर पारिरहेको र यो प्रभाव झन् गम्भीर बन्दै जाने चेतावनी दिनुभयो । उहाँले ठूला पार्टीहरू अफ्ठ्यारोमा परेपछि विदेशी हस्तक्षेप वा षड्यन्त्र देख्ने प्रवृत्तिलाई सामान्यीकरण गर्न खोजिएको बताउनुभयो । तर यो सत्य नभएको पनि उहाँको भनाइ छ ।
उहाँका अनुसार आजको ग्लोबल परिवेशमा अन्तर्राष्ट्रिय अव्यवस्था भत्किँदै गएको छ । जसको प्रभाव नेपालमा पर्दै गएको र अझ गम्भीर रूपमा पर्ने सम्भावना रहेको छ । डा. भट्टराईले नेपालको भौगोलिक अवस्थितिले अन्तर्राष्ट्रिय शक्तिहरूको प्रभाव र तानातानीको केन्द्रबिन्दु बनाइरहेको बताउँदै यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभएको छ ।





