पौष शुक्ल पूर्णिमाबाट शुरु भएर माघ शुक्ल पूर्णिमामा समापन हुने स्वस्थानी ब्रतकथा नेपाली समाजको सबैभन्दा लामो र कठोर धार्मिक ब्रतमध्ये एक हो । आस्था, अनुशासन र सामूहिक संस्कृतिको गहिरो प्रतिबिम्ब बोकेको एक महिनासम्म चल्ने यस ब्रतले परम्पराको धार्मिक आस्था र सामाजिक महत्व दर्शाएको छ ।
पौष शुक्ल पूर्णिमाबाट सुरु भएर माघ शुक्ल पूर्णिमामा समापन हुने श्री स्वस्थानी ब्रतकथा नेपाली हिन्दू समाजको एक महत्वपूर्ण धार्मिक, सांस्कृतिक र सामाजिक परम्परा हो । एक महिनासम्म निरन्तर चल्ने यो ब्रत अत्यन्त कठोर मानिन्छ, जसमा शारीरिक संयम, मानसिक अनुशासन र आध्यात्मिक समर्पण समाहित हुन्छ । स्वस्थानी कथा र ब्रतले नेपाली समाजको सोच, जीवनशैली, पारिवारिक सम्बन्ध र सांस्कृतिक संरचनालाई टेवा दिएको छ ।
स्वस्थानी ब्रतकथाको मूल आधार स्कन्द पुराणको केदार खण्डअन्तर्गत पर्ने ‘स्वस्थानी महात्म्य’ हो भन्ने विश्वास गरिन्छ । कथाहरू ऋषि अगस्त्य र कुमारबीचको संवादमार्फत प्रस्तुत हुन्छन् । यसभित्र देवी पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न गरेको कठोर तपस्या, नाग–नागिनीको बिछोड र पुनर्मिलन, गोमा ब्राह्मणी र नवराजको कथा लगायतका आख्यान समेटिएका छन् । यी कथाहरूले भक्ति, तपस्या, सहनशीलता र कर्मको फलको सन्देश दिएका छन् । कथावस्तु पौराणिक र प्रतीकात्मक भए पनि, यसले आममानिसको जीवन संघर्षसँग जोड्ने शक्ति राखेकै कारण पुस्तौँदेखि यो परम्परा जीवित रहँदै आएको छ ।
यो ब्रत विशेषगरी महिलासँग बढी जोडिएको देखिन्छ । विवाहित महिलाले पति दीर्घायु, पारिवारिक सुख र समृद्धिका लागि तथा अविवाहित महिलाले असल जीवनसाथीको कामनामा यो ब्रत बस्ने चलन छ । बिहान सबेरै नदी वा धारामा स्नान गर्ने, शुद्ध आहार–विहार अपनाउने, दिनभर उपवास वा सीमित भोजन गर्ने, मध्यान्हकालमा कथा वाचन र पूजा गर्ने जस्ता अभ्यासहरूले शारीरिक रूपमा चुनौतीपूर्ण बनाउँछ तर अनुशासितरुपमा बस्ने यो ब्रत दृढ इच्छाशक्ति र आस्थाको प्रतीक हो ।
स्वस्थानी ब्रतकथाको सामाजिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ । घर–घरमा वा टोलटोलमा समूह बनाएर कथा वाचन गर्ने परम्पराले सामाजिक एकता र पारिवारिक घनिष्ठता बढाउँछ । एउटै कथामा सबै पुस्ताका मानिस सहभागी हुँदा सांस्कृतिक विरासत पुस्तान्तरण हुन्छ । आजको व्यस्त र डिजिटल जीवनशैलीमा, स्वस्थानी ब्रतकथाले परिवारका सदस्यलाई एउटै ठाउँमा बस्ने, सुन्ने र संवाद गर्ने अवसर प्रदान गर्छ ।
मनोवैज्ञानिक दृष्टिले हेर्दा पनि स्वस्थानी ब्रतको प्रभाव महत्वपूर्ण छ । नियमित पूजा, ध्यान, अनुशासन र आशाको भावनाले मानिसलाई मानसिक शान्ति दिन्छ । कठिनाइ सहेर पनि अन्त्यमा फल प्राप्त हुन्छ भन्ने विश्वासले मानिसमा धैर्य र सकारात्मक सोच विकास गर्छ । धेरै भक्तजनका लागि यो ब्रत आशा र भरोसाको आधार बनेको छ, जसले जीवनका अनिश्चितता र दुःखसँग जुध्ने मनोबल पुनरजागृत गरिदिन्छ ।
तर वर्तमान सामाजिक परिवेशमा स्वस्थानी ब्रतकथामाथि आलोचनात्मक बहस पनि बढ्दै गएको छ । कथामा देखाइने केही सामाजिक संरचना, विशेषगरी महिलाको भूमिका, आजको लैङ्गिक समानताको दृष्टिले प्रश्नको घेरामा परेको छ । पतिप्राप्ति वा पारिवारिक सुखका लागि महिलाले मात्र कठोर ब्रत बस्नुपर्ने सन्देशले पितृसत्तात्मक सोचलाई बल पु¥याएको त होइन भन्ने प्रश्न उठ्ने गरेका छन् । केही कथामा देखाइने दण्ड, श्राप र व्यवहार आधुनिक मानवीय मूल्यसँग मेल नखाने तर्क पनि जायज छ । तर यस्ता कथाहरु तत्कालीन समाजसँग दाँजेर हेर्नुपर्ने भएकाले आलोचनाहरूलाई परम्पराविरोधी भनेर खारेज गर्नु भन्दा स्वस्थानी ब्रतकथालाई ऐतिहासिक र सांस्कृतिक सन्दर्भमा बुझेर यसको व्याख्या समयानुकूल पुनर्विचार गर्नु आजको आवश्यकता देखिन्छ ।
माघ शुक्ल पूर्णिमामा हुने ब्रतको समापनले विशेष महत्व राख्छ । यस दिन विशेष पूजा, अर्घ्य, दान–दक्षिणा र नदीमा स्नान गरी ब्रत सम्पन्न गरिन्छ । विशेषगरी शालिनदी जस्ता पवित्र स्थलमा हजारौँ भक्तजनको उपस्थिति देखिनु यो परम्पराको जीवित प्रमाण हो । समापनलाई ब्रतको अन्त्यको रुपमा नलिइ आत्मशुद्धि र नयाँ संकल्पको सुरुवातको रूपमा लिनु आवश्यक छ, जसले अनुशासित, नैतिक र आशावादी बन्न प्रेरित गर्छ ।
स्वस्थानी ब्रतकथा नेपाली समाजको धार्मिक विश्वास, सांस्कृतिक पहिचान र सामाजिक संरचनाको प्रतिबिम्ब हो । यसले आस्थाको शक्ति, सामूहिकताको महत्व र आत्म अनुशासनको मूल्य सम्झाउँछ । परम्परालाई अन्धविश्वासको रूपमा होइन, विवेकपूर्ण ढङ्गले बुझ्दै समयसापेक्ष रूपमा व्याख्या गर्नुपर्ने चुनौती पनि प्रस्तुत गरेको छ । स्वस्थानी ब्रतकथाको समापनसँगै यसको सारलाई आत्मसात् गरी परम्परा र आधुनिकताको सन्तुलन मिलाएर मानवीय जीवन अनुशासित, सहज र सरल बनाउनु आजको आवश्यकता हो ।





