हरियो मकै पोलेर दैनिकी चलाउँदै महिला | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

हरियो मकै पोलेर दैनिकी चलाउँदै महिला

फूलमाया आले

काठमाडौँ, माघ । मानिसले गुजरा चलाउन अनेकन काम गरिहरेका हुन्छ । अझ बेरोजगारी समस्या देखाउँदै विदेश पलायन हुने क्रम बढिरहेको बेला केही भने जीवनयापनका लागि नेपालमै संघर्ष गरिरहेका छन् । शहरको चोक गल्लीमा हरियो मकै पोलेर आफ्नो दैनिकी चलाउने पनि प्रसस्तै छन् ।

चोक, बजारका बाटो छेउमा हरियो मकै पोलेर बेचिरहेको दृश्य त हामी धेरैले देखेका छौँ । घरको आर्थिक अवस्था कमजोर भएका तथा बेरोजगार थुप्रै महिलाहरु काठमाडौंको सडकपेटीमा मकै पोलेर आफ्नो दैनिकी चलाइरहेका छन् ।

स्वास्थ्यको लागि पनि राम्रो हुने भएकोले धेरैले पोलेको हरियो मकै खाजाको रूपमा प्रयोग गर्छन् । आर्थिक अवस्था कमजोर भएका तथा अशिक्षित र बेरोजगार महिलाहरु सडकपेटीमा मकै पाेलेरै आफ्नो गुजरा चलाइरहेका छन् ।

काभ्रेकी बिन्दा फुयालले काठमाडौंमा मकै पोलेर बेच्न थालेको १५ वर्ष वितिसक्यो । १० बर्ष अघि श्रीमान वितेपछि तीन छोराछोरीको जिम्मेवारी उनको काँधमा आयो । फुयालले मकै पोलेरै तीन सन्तान हुर्काइसकेकी छिन् । अहिले त छोराछोरी पनि आफ्नो काम गर्न थालिसकेका छन् । सानो–ठुलो हेरेर २० देखि २५ रुपैयाँमा एक घोका पोलेको मकै बेच्ने बिन्दा मकै बेचेरै दैनिक ५-७ सय रुपैयाँ कमाउँछिन् ।

यस्तै झापाकी मिना कार्की विगत २० वर्षदेखि राजधानीमा यसरी नै मकै पोल्ने र बेच्ने गर्दै आएकी छिन् । मिनाले पनि दैनिक रुपमा ५-६ सय रुपैयाँ आम्दानी गरिरहेकी छिन् । भोजपुरकी शान्ता राई मकै पोलेर आफूलाई आवश्यक खर्च आफै कमाई गर्ने गरेको बताउँछिन् ।

हरेक बिहान हरियो मकै प्रतिघोगा १२ रुपैयाँसम्ममा खरिद गर्ने उनीहरू पोलेपछि २० देखि २५ रुपैयाँसम्ममा बिक्री गर्छन । मकै पोल्नलाई दाउरा र कोइलाको जोरजाम पनि बिहानै गर्नुपर्छ । दिनभर मकै पोल्दा चिसो, धुलो, धुँवा र काठमाडौंको प्रदूषणले पनि उतिकै सताउँछ  । तथापी मकै पोलेरै उनीहरुको जीविका चलिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);