काठमाडाैं ।
नेपाली काँग्रेसले सुशासन, विकास र भविष्य केन्द्रित यथार्थवादी तथा विश्वसनीय कार्यक्रम राखेर घोषणापत्र बनाउने बताएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै यस्तो बताउनुभएको हो । उहाँले घोषणामा मात्रै सिमित हुने घोषणापत्र नबनाउने बताउनु भयो । उहाँले काँग्रेसले केही समयभित्र पार्टीको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभयो । नेपालको राजनितिमा काम कम कुरा धेरै गर्ने प्रवृति रहेको उल्लेख गर्नुहुँदै उहाँले काँग्रेसले गर्नसक्ने कामको आधारमा मात्रै घोषणापत्र तयार गर्ने बताउनु भयो । उहाँले गर्नसक्ने जति कामको मात्रै वाचा जनताको बीचमा गर्ने उल्लेख गर्नुभयो ।
उहाँले निर्वाचन क्षेत्रको आवश्यकताका आधारमा उम्मेद्वारहरुले पनि आफ्नो घोषणापत्र बनाउने बताउनु भयो । उहाँले सबै एकजुट भएर निर्वाचनमा लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । आगामी निर्वाचनमा काँग्रेसको सरकार बन्नेगरि तयारी गर्न आग्रह गनुभयो । प्रवक्ता चालिसेले देशभरका १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरू रहेको बताउनु भयो । उहाँले विद्रोह गरेका केही उम्मेदवारले मनोनयन फिर्ता लिइसकेका र केही स्थानमा निष्क्रिय बनाएर आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पहल भइरहेको जानकारी दिनुभयो ।
प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै स्थानीय तह र वडा स्तरसम्म प्रचार–प्रसार तथा परिचालन समिति गठनको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले पार्टीले निर्वाचन आयोगको आचारसंहिताको पूर्ण पालना गर्ने र पार्टीले पनि आन्तरिक आचारसंहिता बनाएर कडाइका साथ लागू गरेको बताउनु भयो । उहाँले पार्टीले प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाइने पनि जानकारी दिनुभयो । काँग्रेसले समकालीन राजनीतिक, वैचारिक र नीतिगत विषयमा प्रत्येक दुई दिनमा ‘डबली संवाद’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । माघ १६ गते शहीद दिवसको अवसरबाट यो कार्यक्रम शुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।





