आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले अनुसन्धान गरी कारबाही गर्छ : आयोग | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले अनुसन्धान गरी कारबाही गर्छ : आयोग

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

उहाँले आयागमा आएको उजुरीको आधारमा मात्रै नभएर आयोगले स्वअध्ययनबाट पनि आचारसंहिता विपरितका कार्य गर्नेलाई कारबाही गर्ने जानकारी दिनुभयो । निर्वाचन आचारसंहिता निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला सबैको सहमतिमा जारी गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार आचारसंहिताको पालना गराउने र उल्लङ्घन भएमा कारबाही गर्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म आयोगका अनुगमन संयन्त्र सक्रिय बनाइएको छ । उहाँले निर्वाचन आचारसंहिता राजनितिक दल, उम्मेद्वार र मतदाता सबैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले उम्मेद्वारी मनोनयनका क्रममा मंगलवार केही आचारसंहिताका विपरितका कार्य भएको उल्लेख गर्नुहुदै ती कार्य आयोगको नोटिसमा रहेको बताउनुभयो । उहाँले आचारसंहिता कार्यन्वयनका लागि आयोगले संयन्त्र बनाइसकेको पनि जानकारी दिनुभयो ।

उत्साहपूर्वक ३ हजार ४८६ उम्मेदवारको मनोनयन दर्ता
प्रत्यक्षतर्फ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा १ जना अन्य समूहबाट उम्मेदवार रहेको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । मंगलवार तोकिएको समयभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो । राजनीतिक दल र उम्मेदवारहरूले देखाएको संयमता र शान्तिपूर्ण वातावरणका कारण मनोनयन दर्ता कार्यक्रम सहज रूपमा सम्पन्न भएको घिमिरेले बताउनुभयो । उहाँकाअनुसार निर्वाचन घोषणा भएदेखि नै आयोगले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ । मनोनयन दर्ताको दिन देखिएको वातावरणले फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनेमा आयोग विश्वस्त रहेको उहाँले बताउनुभयो ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधवार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । प्राप्त उजुरीको निर्वाचन अधिकृतको कार्यालयमा छानबिन गरी संविधान, कानून तथा निर्वाचनसम्बन्धी व्यवस्था अनुसार उम्मेदवारको योग्यता परीक्षण गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । अयोग्य ठहरिएका उम्मेदवारको नाम सूचिबाट हटाई पुनः संशोधित नामावली सार्वजनिक गरिने उहाँले बताउनुभयो । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निवेदन दिन सक्नेछन् ।

त्यसपछि अन्तिम उम्मेदवारको नामावली तथा निर्वाचन चिन्ह सार्वजनिक गरिने र सोही आधारमा मतपत्र छपाइको काम अघि बढाइने घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आचारसंहिताअनुसार फागुन ३ गतेदेखि फागुन १८ गते रातिसम्म औपचारिक चुनावी प्रचारप्रसार गर्न पाइनेछ । मौन अवधि फागुन १८ गते रातिदेखि लागू हुनेछ । सो अवधिभन्दा अघि घरदैलो तथा मतदातासँग भेटघाट गर्न पाइने भएपनि जुलुस, र्याली र आमसभा गर्न आचारसंहिताले निषेध गरेको उहाँले बताउनुभयो ।

आगामी फागुन २१ गते हुने निर्वाचनको लागि देशभर मंगलवार उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका थिए । १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचन हुँदैछ ।

Leave a Reply