काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ । बुधवार गृह जिल्ला झापामा जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरुको अवलोकन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानूनअनुसार दोषी रहेको बताउनुभयो । अपराधिक गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताउनुभयो । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय सम्पती, सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन् । अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नुपर्छ । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्छ । कारबाहीको दायरामा ल्याउनुपर्छ । अरुको घर जलाएर छोडिदिन पाइन्छ ? अहिलेको सरकार सायद उनीहरुकै सरकार हो । त्यसकारण उनीहरुलाई जोगाउने काम गरेको छ ।’
अन्तरिम सरकार देश जलाउनेहरुकै भएकाले पनि अपराधीहरुलाई कारबाही नगरेको उहाँको जिकिर छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमवार मात्रै झापा जानुभएको थियो । झाप- ५ बाट उहाँले आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्नेगरी मनोनयन गराउनुभएको छ ।





