काठमाडाैं । प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र १ हजार १८७ जनाले मंगलबार मनोनयन दर्ता गराएका हुन् ।
कूल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
उजुरीपछि बिहान १० देखि बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । नाम फिर्ता लिन र दाबी विरोधपछि उम्मेदवारको सङ्ख्या केही घट्न सक्छ । आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ ।
त्यसैदिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ । यसैबीच निर्वाचन आयोगले प्रदेश सभा सदस्य र पालिका प्रमुखको रिक्त स्थानमा ६ महिनाभित्र निर्वाचन गर्ने स्पष्ट गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भएर रिक्त रहेका प्रदेश सभा सदस्य र पालिका प्रमुखको स्थानमा सरकारको सल्लाहमा ६ महिनाभित्रै निर्वाचन गरी पदपूर्ति गरिने जानकारी दिनुभयो । उहाँले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह पनि गर्नुभयो ।





