काठमाडाैं । नेकपा (एमाले)का उपाध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनमा जित्ने कुनै आधार नरहेको दाबी गर्नुभएको छ । जेन–जी आन्दोलनको क्रममा सिंहदरवार जलाउने एउटा स्टेकहोल्डरको रुपमा रास्वपा रहेकाले पनि सो पार्टीको कुनै भविष्य समेत नरहेको उहाँको जिकिर थियो ।
पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले कुनै वैचारिक र राजनीतिक स्पष्टता नभएको सो पार्टीले स्थापित राजनीतिक दलहरुको विरोध गरेर केही दिनका लागि चर्चाको आएको मात्रै बताउनुभयो । उहाँले केही दिनका लागि जनतालाई बैकल्पिक शक्ति भनेर सो पार्टीले भ्रम दिएपनि अव नटिक्ने बताउनुभयो ।
उपाध्यक्ष बादलले भन्नुभयो,‘रास्वपा भनेको एउटा अस्थिर राजनीतिक दल हो । यो स्थापित सबै राजनीतिक दलहरुको विरोध गरेर जन्मिएको हो । त्यसकारण उनीहरुको कुनै भविष्य छैन । रास्वपाको न कुनै वैचारिक स्पष्टता छ । न त नीतिगत स्पष्टता छ । यसको केही पनि स्पष्टता छैन । त्यसकारण जित्नका लागि उनीहरुसँग कुनै वैचारिक, राजनीतिक आधार छैन । त्यसकारणले उनीहरुले जित्दैनन् । उनीहरु अहिले केही भ्रम दिन सफल भएका छन । तर त्यो भ्रम अव धेरै दिन कायम रहँदैन । किनभने भ्रम दिएर नाजीहरु सफल भएका थिए । तर उनीहरु टिकेनन । रास्वपा सिंहदरबार जलाउनेहरुको एउटा स्टेकहोल्डर हो ।’
उपाध्यक्ष थापाले रास्वपालाई अस्थिर राजनीतिक दलको रुपमा समेत चित्रण गर्नुभयो ।





