नेपाल भूकम्पीय जोखिमको उच्च क्षेत्रमा रहेकाले जनधनको क्षति न्यूनीकरणका लागि सचेतना र पूर्वतयारी अपनाउन आवश्यक छ । वि.सं. १९९० माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा मनाइने भूकम्प सुरक्षा दिवसले भूकम्पबाट बच्न सुरक्षित संरचना र जिम्मेवार व्यवहारतर्फ सबैलाई अग्रसर गराउने सन्देश दिएको छ ।
-माेहनप्रसाद मैनाली
वि.सं. १९९० माघ २ गते नेपालमा गएको विनाशकारी महाभूकम्पको सम्झनामा प्रत्येक वर्ष भूकम्प सुरक्षा दिवस मनाइने गरिन्छ । महाभूकम्पले हजारौँ नेपालीको ज्यान लियो, अनगिन्ती घर–परिवार उजाड बनायो र भौतिक तथा सामाजिक संरचनामा ठुलो क्षति पुर्यायो । त्यो दर्दनाक स्मृतिले हामीलाई भूकम्पको यथार्थ खतरा र त्यसबाट बच्न अपनाउनुपर्ने उपायबारे गम्भीर बन्न प्रेरित गरेको छ ।
नेपाल भूकम्पीय दृष्टिले अत्यन्तै संवेदनशील देश हो । भारतीय र यूरेसियन प्लेटको टक्कर क्षेत्रमै अवस्थित भएकाले यहाँ साना–ठूला भूकम्प बारम्बार जाने गर्छन् । वि.सं. १९९० को महाभूकम्पपछि पनि २०७२ साल वैशाख १२ गतेको गोरखा भूकम्पले कमजोर पूर्वतयारी, अव्यवस्थित बस्ती विकास र कमजोर संरचना भएको पुष्टि गरेको छ । हजारौँ नागरिकको मृत्यु, लाखौँ घर ध्वस्त र ऐतिहासिक सम्पदाको विनाशले भूकम्प जोखिम न्यूनीकरणका प्रयासलाई राष्ट्रिय प्राथमिकतामा राखेर व्यावहारिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।
भूकम्प प्राकृतिक विपत्ति हो, तर त्यसबाट हुने क्षति धेरै हदसम्म मानवीय कमजोरीका कारण बढ्ने गर्छ । अवैज्ञानिक ढंगले बनाइएका घर, भवन निर्माण संहिताको पालना नगर्नु, जनचेतनाको अभाव, विपद् व्यवस्थापनमा कमजोर पूर्वतयारी जस्ता कारणले भूकम्पलाई थप भयावह बनाउँछ । भूकम्प रोक्न सकिँदैन, तर त्यसबाट हुने क्षति घटाउन सकिन्छ ।
भूकम्प सुरक्षा दिवस मनाउने उद्देश्य विगतका घटनाबाट पाठ सिकेर भविष्य सुरक्षित बनाउनु हो, यसका लागि विद्यालय, कार्यालय, समुदाय र सरकारी निकायमा सचेतनामूलक कार्यक्रम, अभ्यास, तालिम र छलफल सञ्चालन गरिनु आवश्यक छ । भूकम्प आउँदा के गर्ने, के नगर्ने भन्ने सामान्य जानकारीले पनि ठूलो क्षति टार्न सक्छ ।
दीर्घकालीन समाधानका लागि सुरक्षित संरचना निर्माण गर्नुपर्छ । भवन निर्माण संहिता कडाइका साथ लागू गर्नुपर्छ । पुराना र जोखिमयुक्त भवनको पहिचान गरी मर्मत वा पुनर्निर्माण गर्न आवश्यक छ । विद्यालय, अस्पताल, सरकारी कार्यालय जस्ता संवेदनशील संरचनालाई भूकम्प प्रतिरोधी बनाउन पहिलो प्राथमिकतामा राख्नुपर्छ । अबको समय विकासका नाममा जोखिम बढाउने होइन, सुरक्षित र दिगो विकासतर्फ अग्रसर हुने हो ।
भूकम्प सुरक्षा दिवसले नागरिक तथा नीति निर्माता र नेतृत्व कर्तालाई आत्मससमिक्षा गर्न प्रोत्साहन गर्छ । विपद् व्यवस्थापन सम्बन्धी कानुन, नीति र संस्थागत संरचना प्रभावकारी रूपमा कार्यान्वयन भएका छन् कि छैनन् भन्ने प्रश्न उठाउनु आवश्यक छ । विपद् आएपछि राहत बाँड्ने संस्कृतिभन्दा विपद् आउनुअघि नै तयारी गर्ने संस्कृतिको विकास आजको पहिलो आवश्यकता हो।
भूकम्प सुरक्षा दिवस चेतनाबाट व्यवहारमा जाने अवसर हो । एक दिन भाषण र पोस्टरमा सीमित भएर होइन, दैनिक जीवनमै सुरक्षा उपाय अपनाएर मात्र यसको सार्थकता पुष्टि हुन्छ । वि.सं. १९९० माघ २ गतेको महाभूकम्पले दिएको पीडादायी पाठलाई आत्मसात गर्दै, हामी सबै मिलेर सुरक्षित घर, सुरक्षित समुदाय र सुरक्षित राष्ट्र निर्माणतर्फ अघि बढ्नुपर्छ । भूकम्प सुरक्षा दिवस सबैका लागि सचेतना, आत्ममूल्याङ्कन र सुरक्षित भविष्यका लागि व्यावहारिक बन्ने अवसर बन्नुपर्छ ।





