एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने

काठमाडाैं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२ औं संस्करण पुस २३ गते पोखरामा आयोजना हुने भएको छ । गत भदौ २९ गते पोखरामा तय अवार्ड जेनजी आन्दोलनका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रभावित अवार्ड आगामी पुस २३ गते आयोजना गर्ने जनाएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अन्तिम समयमा अवार्ड स्थगित हुन पुगेको थियो । खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले स्पोटर््स हबको रूपमा रहेको पोखरामा नै अवार्ड आयोजना गर्ने लामो समयदेखिको योजनाअनुरूप सरोकारवालासँग छलफल गरेर पोखरामा नै अवार्ड गर्न लागिएको बताए ।

देशको राजनीतिक अवस्था स्थिर नहुनु र अवार्डसँग जोडिएका सरोकारपक्ष पनि तयार नहुँदा अवार्ड आयोजनाको मिति तय गर्न समय लागेको उनको भनाइ छ । साथै उनले अवार्डका लागि सबै तयारी पनि पूरा भइसकेको जानकारी दिए । स्पोर्ट्स अवार्डमा यति एयरलाइन्स नयाँ प्रायोजकका रूपमा जोडिएको पत्रकार सम्मेलनमा मञ्चका महासचिव अञ्जन खड्काले बताए । यति एयरलाइन्सले अवार्डमा सहभागी हुने मनोनयनमा पर्न सफल खेलाडी, प्रशिक्षक र अतिथिलाई सेवा प्रदान गर्नेछ । आईतवार (आज) कै मितिदेखि अवार्डको महत्वपूर्ण विधाको रूपमा रहेको पिपल्स च्वाइस अवार्डको रोकिएको डिजिटल वालेट गल्तीबाट भोटिङ प्रक्रिया पनि खुला गरिएको मञ्चले जनाएको छ ।

मञ्चका महासचिव खड्काले विगतमा पिपल्स च्वाइसको मनोनयनमा रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए त्यहींबाट भोटिङ प्रकृया फेरि शुरु हुने स्पष्ट पारेका छन् । पिपल्स च्वाइस विधाको प्रतिष्पर्धामा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा छन् ।

स्पोटर््स अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ । त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोटर््स समिट हुनेछ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले अवार्डलाई चलायमान बनाउन स्पोर्ट्स समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमी बारे बहस हुने जानकारी गराए ।

अवार्डका अन्य विषयहरू यथावत रहेको र केही नयाँ कम्पनीसँग सहकार्य भएको छ । गोल्छा ग्रुपसँगको मुख्य प्रायोजकको सम्झौताअनुरुप सहकार्य हुने नै छ । पोखरा महानगरपालिका अवार्ड प्रवर्द्धनका रूपमा रहनेछ । पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग सहकार्यका लागि लिखित सम्झौता भइसकेको छ । त्यसबाहेक सूर्य नेपाल प्रालि, डिटिजल भोटिङ पार्टनर आईएमई खल्ती डिजिटल वालेट, केल्मी नेपाल, इमेजिड, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, वागमती प्रदेश खेलकुद विकास परिषद्, नेपाल पर्यटन बोर्ड र आईएमई हस्पिटालिटी पनि पार्टनरको रूपमा छन् ।

एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड २०८१ मा कुल १० विधामा अवार्ड प्रदान गरिनेछ । पिपल्स च्वाइस अवार्डसँगै वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर छन् । वर्ष खेलाडी पुरुष÷महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply