काठमाडाैं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको भन्दै घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताउनुभएको छ । आयोगको कार्यालयमा मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नभन्दा आयोग धेरै अघि पुगिसकेको उहाँको भनाइ छ । उहाँले निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै निर्वाचनको वातावरण बिथोल्ने प्रयास कसैले गरेको पाइए आयोगलाई शतर्क गराउनसञ्चारमाध्यमहरुलाई अनुरोध गर्नुभयो । यस अवस्थामा राजनीतिक दलहरूको गतिविधि र भूमिकालाई समेत समेत ध्यानपूर्वक हेर्न उहाँको आग्रह छ ।
अन्तरिम सरकार गठनको समयमा राष्ट्रपतिले समेत संविधानअनुसार निर्वाचन गरिनुपर्ने र संविधानको संरक्षण तथा सुशासन कायम गर्न निर्वाचन नै एकमात्र विकल्प भएको कुरा राखेकोले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताउनुभयाे।
भण्डारीले मुलुकले थप आन्दोलन धान्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै निर्वाचनमा सबैलाई सक्रिय सहभागि गराई सक्षम व्यक्तिहरूलाई संसदमा पठाउनुपर्ने सबैको साझा दायित्व भएको बताउनु भयो ।





