काठमाडाैं । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारी अस्पतालमा भएका आधारभुत सेवाहरुलाई राम्रोसँग सञ्चालन गर्न पनि आग्रह गर्नुभयो । आधारभुत सेवाहरु स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने भएपनि जानेर वा नजानेर ठूला अस्पतालमा आउने गरेको उहाँको भनाइ छ । ठूला अस्पतालमा विशिष्ट किसिमका सेवा दिनुपर्नेमा साना आधारभुत सेवा पनि दिनुपर्ने बाध्यताले अस्पतालमा भीड बढ्ने गरेको उहाँले बताउनुभयो ।
अस्पतालमा हुने भीडले स्वास्थ्यकर्मीको काममा समेत उच्च चाप हुने र औषधिको समेत अभाव हुने गरेको उहाँको भनाइ छ । उहाँले आम नागरिक र बीमा बोर्डमा पनि बीमाबारे बुझाइको कमी रहेको भन्दै यसबारे स्पष्ट हुन जरुरी रहेको बताउनुभयो । अस्पतालमा थुप्रिएको चापलाई कसरी कम गर्ने र बीमालाई कसरी लक्षित समुदायसम्म पुर्याउने भन्ने ध्येयका साथ आफूहरुअघि बढिरहेको बताउनुभयो ।
उहाँले लुम्बिनी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मातृ शिशु मृत्युदर उच्च रहेको बताउँदै यि क्षेत्रमा अत्याधिक प्राथमकिताका साथ कार्यक्रम अघि बढाइरहेको दाबी गर्नुभयो ।





