काठमाडाैं । नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको बताएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११औँ राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिनुभएको हो ।
उहाँले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताउनुभयो । पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रुप दिने तयारी भइरहेको बताउनुभयो ।
पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको उहाँले जानकारी दिनुभयो । आफूहरुले संवैधानिक हिसाबले अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको बताउनुभयो । नेकपा एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको र संवैधानिक संपरीक्षणका लागि निवेदन दिइसकिएको बताउनुभयो ।
उहाँले सरकार शान्ति सुरक्षामा संवेदनशिल नरहेको भन्दै निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।





