काठमाडाैं । काठमाडौंमा सात देशका कलाकारको सहभागितामा ‘काठमाडौं इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा बिन्दु स्पेस फर आर्टिष्ट नेपालको आयोजनामा उक्त फेस्टिभलमा नेपालसहित भारत, चीन, बङ्गलादेश, अष्ट्रिया र फिलिपिन्सका कलाकार सहभागी छन् ।
फेस्टिभलले विभिन्न देशका कलाकारहरुबीच कला संस्कृति आदानप्रदान हुने र एक अर्काबीचको सिकाई साटासाट प्रतिष्ठानले जनाएको छ । मानिसले जन्मेपछि विवाह गर्नुभन्दा अगाडि र विवाह पछाडि फरक पहिचान बोक्ने भएकाले त्यसलाई आधार मानेर आफूले ‘मेरो परिचय’ नामक प्रश्तुती पस्केको कलाकार सौरगङ्गा दर्शनधारीले बताउनुभयो ।
उहाँ ललित कला प्रज्ञा प्रतिष्ठानकी बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख पनि हुनुहुन्छ । कार्यक्रम अवलोकन गर्न आएका दर्शक सञ्जीप महर्जनले परफरमेन्स आर्ट सामान्य मानिसका लागि बुझ्न चुनौतीपूर्ण हुने उल्लेख गर्दै फेस्टिभलले यस्तो कला विधाको पहिचान विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।
फेस्टिभले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने आयोजकले जानाएको छ । फेस्टिभल शुक्रबारसम्म सञ्चालन हुनेछ ।





