रोचक र अनौठा प्रसङ्ग समेटिएको त्रिपुरासुन्दरी माई मेला सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

रोचक र अनौठा प्रसङ्ग समेटिएको त्रिपुरासुन्दरी माई मेला सम्पन्न

धादिङ । नेपालको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीको न्वागी मेला अन्तर्गत आइतबार भगवती माईलाई माइतीमा ल्याईएको छ । शनिवार साँझदेखि रातभर पूजापाठ गरेर आइतबार बिहानै त्रिपुरासुन्दरी माईलाई सल्यानकोटमा रहेको गाउँको मन्दिरबाट सल्यानबेँसीमा झारिएको हो । एक वर्षमा तीनस्थानमा सारिने माई्लाई बेसीमा ल्याउने क्रममा बाजागाजा सहित ठुलो लावालस्कर रहेको थियो । बाटोका दुबै किनारामा बसेर श्रदाजु भक्तजनहरुले माईको दर्शन गरेका थिए ।

मंसिर महिनाको विशेष तिथिमा त्रिपुरासुन्दरी भगवतीलाई गाउँको मन्दिर त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोटबाट बेँसीको मन्दिर सोही गाउँपालिका–६ सल्यानबेँसीमा सार्ने गरिन्छ । रानामगर थरका मुख्य पुजारीद्वारा खाली खुट्टा त्रिपुरासुन्दरी भगवतीलाई पिठ्युँमा बोकेर झण्डै तीन घण्टाको ओह्रालो तथा अप्ठेरो बाटो हुँदै बेँसीको मन्दिर ल्याइने गरिन्छ । हातमा नाङगो खुडा, खुकुरी र तरबार बोकेका युवाहरु। अनि दियो, कलश, शंख, घण्ट सहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेरा लगाएर माईको सवारी गराइन्छ । त्यही घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति पिठ्युँमा बोकेर पुजारीहरुले बेसीमा लैजादै गर्दा पन्चेबाजाको रौनकमा नाच्दै गरेका स्थानीय र जात्रामा सहभागिहरुले बाटोको दायाँवायाँ बसेर पुजापाठ र अविर जात्रा गर्ने गर्दछन । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन् ।

तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहिआएको छ । बेसीमा रहेको यो मन्दिर त्रिपुरासुन्दरी भगवतीको माइतीघर हो । प्रायः देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भए पनि यो जात्रामा भक्तजनहरुले बाटोमै बसेर त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न पाउँछन् । सल्यानकोटको घरमा रहेकी त्रिपुरासुन्दरी बेँसीमा रहेको मन्दिर माइतीघरमा न्वागी खान आउने पर्वको अवसरमा भव्य मेला समेत लागेको छ । न्वागी खानका लागि ल्याइएको त्रिपुरासुन्दरी भगवतीलाई फागुन महिनासम्म माइतीघरमा नै राखिन्छ । फागुन महिनामा साइत हेरेर पुनः त्रिपुरासुन्दरीलाई माथि आफ्नै घर लाने परम्पराअनुसार त्यबेला पनि मेला लाग्ने गर्दछ । भगवतीको प्रतीकलाई बेँसी झार्दा भक्तजन र पुजारीहरुबाट खुँडा, खुकुरीसहित पञ्चेबाजामा नाच देखाउँदै दियो, कलश, बोकेर शङ्ख, घण्ट बजाउँदै र भगवतीको जयजयकार गाउँदै अबिर जात्रा गर्ने गरिन्छ । मेलाको आकर्षण नै सल्यानबेँसीमा त्रिपुरासुन्दरी भगवती बोकेर ल्याउँदाको अवसरलाई लिने गरिएको छ ।

त्रिपुरासुन्दरी भगवतीलाई एक वर्षभित्र विभिन्न तीन वटा मन्दिरमा लगेर राख्ने र त्यहीँ पूजाआजा गर्ने अनौठो र रोचक परम्परा छ । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई वटा मन्दिरमध्ये दशैमा अर्थात घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वतिरको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । पूर्वतिरको मन्दिर भगवतीको मामाघरको रूपमा प्रसिद्ध छ । पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यहीँ पूजाआजा गरिन्छ । उक्त मन्दिर त्रिपुरासुन्दरीको घर भएको बताइन्छ । हरेक वर्ष मंसिरमा विशेष तिथिमा भगवतीको मेला लाग्ने गर्छ । भगवतीलाई बेसीको मन्दिरमा लैजाने साइत दशैंको टिकाको दिन हेर्ने गरिन्छ भने तिहारको भाईटिकाको दिन त्यसलाई सार्वजनिक गरिन्छ ।
भक्तजनहरुले आफ्नो मनोकांक्षा सिद्धि गराउन जात्राको दिन फुलको डोली ल्याउने गरेका छन्। सोहीअनुसार फागुनको अन्तिमतिर विशेष साईत हेरेर फेरि कोटकै मुल मन्दिर भगवतीलाई भित्राउने प्रचलन रहिआएको छ । भगवतीको विभिन्न मन्दिरको बसाईलाई विवाहित नेपाली महिलाको जीवनको रुपमा हेरिन्छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ । त्यसयता शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य समेत भेटिन्छ । अन्य मन्दिरले भन्दा फरक प्रकृतिको विशेषता बोकेको यस मन्दिरको त्रिपुरा भगवतीको मुर्ति कसैले छुन नपाएपनि यस मन्दिरमा परम्परादेखि नै सबै जातजातिका श्रद्धालु भक्तजनहरुले सहज रुपमा पुजाआजा गर्न पाउने ब्यबस्था रहेको छ ।

Leave a Reply