एनपिएलको दोस्रो संस्करण, उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरको हार | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

एनपिएलको दोस्रो संस्करण, उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरको हार

काठमाडाैं । खराब ब्याटिङ गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर रोयल्सले हारबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण शुरुवात गरेको छ । दोस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर सोमबार काठमान्डु गोर्खाजसँग पाँच विकेटले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा पहिलोपल्ट फ्लड लाइटमा क्रिकेट सुरु भए पनि जनकपुरले त्यसलाई यादगार बनाउन सकेन । खराब ब्याटिङ सामना गरेको जनकपुरले एक सय ३१ रनको सामान्य लक्ष्य दिएको थियो । जबाफी ब्याटिङ गरेको काठमान्डुले १८औं ओभरमा मात्र पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो । काठमान्डुका ओपरद्वय आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले राम्रो सुरुआत दिलाउँदै जितको आधा तय गरे । आकाश ३९ रन र बेन ४६ रनको योगदान दिए । आकाशले ३४ बलमा पाँच चौका प्रहार गरे ।

बेनले २३ बलमा पाँच चौका र छक्का हिर्काए । यो जोडीले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै जितको आधार बनाए । नवौं ओभरमा बेन लफ्टी इटनबाट कट एन्ड बोल्ड भए । त्यसपछि आएका भीम सार्की तीन रनमै पभेलियन फर्किए । काठमान्डुले १४.५ ओभरमा सय रन जोड्यो । दुई विकेट पतन भएपछि काठमान्डु केही दबाब देखिए पनि सहजै लक्ष्य भेट्टायो । मिलिन्द कुमारले १९ रन र जन जिम्पसन १३ रन बनाएर आउट भए । तर, त्यसपछि भने काठमान्डुले थप क्षति बेहोर्नुपरेन । मध्यम लक्ष्य रक्षा गरेको जनकपुरले आठ बलर प्रयोग ग¥यो । तर, हार टार्न भने सकेन । किशोर महतो, अनिल साह, ललित राजवंशी, लफ्टी इटन र सञ्जय कृष्णमुर्तिले समान एक विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेन ।

टस हारेर पहिले ब्याटिङ पाएको जनकपुरको सुरुआत मध्यम भएको थियो । तर, पूरै ओभर खेले पनि जनकपुरले ६ विकेटको क्षतिमा एक सय ३० रनको सामान्य योगफल बनायो । ओपनर आसिफ सेखबाहेक शीर्ष क्रमका पाँच ब्याटर दोहोरो अंकमा रन जोड्न असफल रहे । आसिफले ४१ बलमा ५४ रनको अर्धसतकीय इनिङ खेले । ओपनर लाहिरु मिलन्था ७ रनमा आउट भए । त्यसपछि आएका कप्तान अनिल शून्यमा पभेलियन फर्किंदा इटन र कृष्णमुर्ति समान दुई रनमा नै आउट भए । मध्यक्रमका ब्याटर मयन यादव ३२ र लाहिरु समराकुन २२ रन जोडे । तर, त्यो जनकपुरका लागि पर्याप्त भएन । मयनले २९ बलमा दुई चौका र एक छक्का प्रहार प्रहार गरे ।

हामीरुले २१ बलमा दुई छक्का हिर्काए । काठमान्डुका मिलिन्द कुमारले छिट्टै तीन विकेट लिँदै जनकपुरको इनिङलाई झड्का दियो । करण केसी, साहब आलम र सन्तोष यादवले समान एक विकेट लिँदै जनकपुरलाई सस्तैमा रोके । स्पिनरका लागि सहज देखिएको पिचमा काठमान्डुका ओपनरले राम्रो सुरुआत दिलाए । अघिल्लो सिजन प्लेअफमा पुग्न नसकेको काठमान्डुले यस दोस्रो संस्करणमा राम्रो सुरुआत गरेको छ । त्यसअघि प्रधानमन्त्री सुशील कार्कीले एनपिएलको दोस्रो संस्करणको उद्घाटन गरेको थिइन् । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यचिव टंकलाल घिसिङ  र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द उपस्थित थिए ।

Leave a Reply