काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर नीति समय सापेक्ष बनाउन माग गर्नुभएको छ ।सोमबार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अहिले विश्वको कर नीतिमै व्यापक परिवर्तन भएको र उपभोक्ताहरुको क्रय शक्ति बढाउन र उद्यमी व्यवसायीहरुको लगानी क्षमता बढाउन विश्वका धेरै देशहरुले करका दरहरु घटाउँदै गइरहेको बताउनुभयो । कतिपय देशहरुले लगानी आकर्षित गर्न आयकर कम गर्ने नीति अवलम्वन गरिरहेको भन्दै नेपालले पनि यसबारे सोच्न जरुरी रहेको बताउनुभयो । प्रतिष्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको जिकिर गर्नुभयो ।
भन्सार दरलाई अधिकतम २५ प्रतिशत र मूल्य अभिवृद्धि करलाई कमसेकम दुई दरको कायम गर्न अति नै आवश्यक भएको पनि बताउनुभयो । नेपालमा उत्पादित हुने सबै वस्तुहरुमा अन्तःशुल्क घटाउनुपर्ने आजको टड्कारो आवश्यकता रहेको बताउनुभयो ।
अध्यक्ष अग्रवालले आयकर ऐनको पुनः लेखन गर्नुपर्ने माग गर्नुभयो । उहाँले डिजिटल बिजनेसको अन्योलता हटाउन जरुरी रहेको बताउनुभयो । उहाँले संघ र स्थानीय तहको आफ्नो आफ्नो कानूनी व्याख्याका कारण घर बहाल करमा दाहोरो मार परेको बताउनुभयो । राजश्वको लक्ष्य पुर्याउने दबाबमा भएका कर निर्धारण आदेशहरुले आन्तरिक राजश्व विभागमा ठूलो वक्यौता रकम देखिएको र अर्कोतर्फ उद्यमी व्यवसायीहरु अनावश्यक कानूनी झन्झटमा परेको बताउनुभयो ।





