च्याम्पियन बन्ने सुदूरपश्चिम रोयल्सको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

च्याम्पियन बन्ने सुदूरपश्चिम रोयल्सको लक्ष्य

काठमाडाैं । नेपाली क्रिकेट समर्थक र खेलप्रेमीले प्रतीक्षा गरिरहेको नेपाल प्रिमियर लिग (एनपिए) को दोस्रो संस्करण आयोजनाको संघारमा छ । एनपिएलको दोस्रो संस्करण फ्लड लाइटमा खेलाउने तयारी भइरहेको छ । जुन आगामी मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु हुनेछ ।

दोस्रो संस्करणका लागि दोस्रो संस्करण नजिकिँदै गर्दा आठ वटै फ्रेन्चाइज टोलीले तयारीमा तिब्रता दिइरहेका छन् । केही टोलीले विदेशी खेलाडी अनुबन्धको कोटा पनि पूरा गरिसकेको छ । आठ टोलीमध्ये गत संस्करण जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गरेका थिए । यी दुवै टोली फाइनलमा भिडे । जहाँ जनकपुर लिगमा बेहोरेको हारको बदला लिँदै च्याम्पियन भयो । त्यतिबेला उपाधि विमुख भएको सुदूरपश्चिम दोस्रो संस्करणमा च्याम्पियन बन्ने लक्ष्यमा छ ।

त्यही अनुरूप सुदूरपश्चिमले विदेशी खेलाडी अनुबन्ध गरिसकेको पनि छ । मिनी अक्सनमा पनि राम्रो गरेको सुदूपश्चिम दोस्रो संस्करण सुखद बनाउन चाहन्छ । लामो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक रहेका जगत टमटा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा सुदूरपश्चिमले मूलपानी क्रिकेट मैदानमा दोस्रो संस्करणका लागि तयारी गरिरहेको छ । प्रशिक्षक टमटाले हरेक खेलाडीले मेहनत गरेर तयारी गरेको र विदेशी खेलाडीले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सुखद् प्रदर्शन गरेको बताएका छन् । कप्तान दीपेन्द्र सिंह केही समअगाडिसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त थिए ।

प्रशिक्षण र अन्य तवरबाट पनि समग्रमा तयारी राम्रो भएको प्रशिक्षक टमटा बताउँछन् । यद्यपि, यसपल्ट सबै टोली बलियो रहेको र हरेक खेल चुनौती रहने प्रशिक्षक टमटाले उल्लेख गरेका छन् । त्यसमा पनि स्वदेशी खेलाडीलाई फ्लड लाइटमा खेल्न सहज नहुने प्रशिक्षक टमटा बताउँछन् । उनले गत संस्करण आफ्नो टोलीले राम्रो खेलेको र यसपल्ट पनि राम्रो टोली बनेको उल्लेख गरे । यद्यपि, खेलमा जस्तोसुकै नतिजा पनि आउनसक्ने भन्दै उनी सचेत छन् । आफ्नो टोलीले च्याम्पियन हुन बेटर क्रिकेट खेल्ने सुदूरपश्चिमका प्रशिक्षक टमटाको विश्वास छ । उनले विदेशी खेलाडी अन्तिम समय आए पनि टिमका लागि सदैव तयार रहने उल्लेख गरेका छन् ।

आफ्नो टोलीमा अधिकांश खेलाडी सुदूरपश्चिमका रहेको र टिमका मालिक पनि त्यस क्षेत्रमा क्रिकेट विकास गर्ने लक्ष्यमा रहेको टमटाको भनाइ छ । उनले डे नाइटका खेल सबै टोलीका धेरै चुनौती रहने उल्लेख गरेका छन् । तर, हरेक टोलीले त्यसअनुरूप तयारी गरेको उनको भनाइ छ । नेपालमै तयारी गरेर सन्तुलित टोली बनाउने प्रशिक्षक टमटाको लक्ष्य छ । छोटो समयको तयारी हुने भएकाले टिम बन्डिङ राम्रो गर्ने आफ्नो प्रयास रहने प्रशिक्षक टमटा बताउँछन् । आफ्नो टोली सन्तुलित रहेको र त्यहीअनुसार नतिजा पनि आउनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।

दीपेन्द्रसिंहको कप्तानीमा रहेको सुदूरपश्चिममा अनुभवी ब्याटर तथा विकेटकिपर विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, हेमन्त धामी, इशान पाण्डे, नरेन साउद र टेक रावत छन् । यसपल्ट सुदूरपश्चिमले उत्कृष्ट लयमा रहेका अलराउन्डर हर्मित सिंहलाई पनि अनुबन्ध गरिसकेको छ । साथै यो टोलीले स्कट कुग्गेलिजन, क्रिस लिन र जोस ब्राउनलाई टोलीमा समावेश गर्दै थप बलियो बनाएको छ । टिम सन्तुलित बनेकाले रोयल्स यसपल्ट पनि सुखद प्रदर्शन गर्नेमा आशावादी छ । सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिमका विभिन्न स्थानमा दुई दिने ट्रफी टुर आईतवार सम्पन्न गरेको छ । यससँगै दोस्रो संस्करणका लागि ट्रफी टुरमा पनि भएको छ ।

Leave a Reply