काठमाडाैं । सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबि लामिछानेसँग उच्चस्तरीय जाँचबुझ आयोगले करिब ७ घण्टा १५ मिनेट बयान लिएको छ । बुधबार मध्यान्ह १ बजे रविलाई नख्खु कारागारबाट सिंहदरबार स्थित उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराएर करिब ७ घण्टा १५ मिनेट बयान लिएको हो ।
बयान सकेर उहाँलाई कारागार फर्काइएको छ । जेनजी प्रदर्शनमा भएको प्रहरी दमन र देशभरको हिंसाका गतिविधिबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले छानबिन गरिरहेको छ । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र अधिवक्ता विन्देश्वरी भण्डारी सदस्य हुनुहुन्छ ।
भदौ २४ मा लामिछाने नख्खु कारागारबाट निस्केपछि देशभर कारागारबाट कैदीबन्दी निस्कने र कारागार भित्र आगजनी गर्ने लहर चलेको सम्बन्धमा आयोगका पदाधिकारीहरूले बयान लिएका हुन् । लाामिछाने जेलबाट निस्केपछि आफूलाई रिहा गरिएको पत्र सार्वजनिक गरेपनि प्रश्न उठेपछि फेरी कारागार फर्कनु भएको थियो ।
आयोगका पदाधिकारीले त्यसबारे प्रश्न गरेका छन् । त्यसबेला सार्वजनिक गरेको पत्रमा सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेश अनुसार थुनामुक्त गरिएको उल्लेख छ । यसअघि आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिइसकेको छ ।
जोशीले बयानमा भदौ २४ मा प्रदर्शनकारी घेरेर रविलाई जेलबाट बाहिर लगेपछि रास्वपाका मान्छेहरूले डेढ घण्टापछि आएर आफूलाई पत्रमा हस्ताक्षर गराएको भन्नु भएको छ ।





