एजेन्सी, २६ माघ । अमेरिकी अधिकारीहरूले विद्रोही समूह इस्लामिक स्टेटका दुईजना ब्रिटिश सदस्यलाई सिरियाली कुर्द लडाकुहरूले पक्राउ गरेको बताएका छन्। उनीहरू इस्लामिक स्टेटका लागि काम गर्ने एउटा समूहका सदस्य भएको बताइएको छ।
अमेरिकी अधिकारीका अनुसार यो समूहले पश्चिम देशका २७ जना बन्धक बनाइएकाहरूको टाउको छिनाएका थिए र केहीलाई चरम यातना पनि दिएका थिए। बिटल्स नाम रहेको उक्त समूहका चारैजना सदस्य लण्डनका भएको बताइएको छ।
अहिले पक्राउ पर्ने दुईजनाको नाम एलेजाण्डा कोटी र एल शाफी एससिख रहेको छ। अमेरिकी अधिकारीहरूले यी दुई सन्दिग्ध पक्राउमा परेको पुष्टि गरेका छन्। तर ब्रिटेनको विदेश विभागले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
यो समूहका प्रमूख योजनाकार मोहम्मद अम्वाजी थिए जसलाई जिहादी जोनको नामबाट पनि चिनिन्थ्यो। जिहादी जोनको सन् २०१५ मा सिरियामा भएको ड्रोन हमलामा ज्यान गएको थियो। उक्त समूहका एकजना सन्दिग्ध आइन डेविसलाई गत वर्ष टर्कीमा जेलमा हालिएको थियो।