टौदह : आन्तरिक पर्यटनकाे आकर्षणकाे केन्द्र | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

टौदह : आन्तरिक पर्यटनकाे आकर्षणकाे केन्द्र

काठमाडाैं । टौदह काठमाडौं उपत्यकाको सबैभन्दा ठुलो प्राकृतिक ताल हो । प्राकृतिक, सामाजिक तथा धार्मिकरुपले प्रसिद्ध टौदहको भ्रमण अवलोकन गर्न आन्तरिक पर्यटनको भीड लाग्ने गर्दछ । कोलाहलपूर्ण शहर बजारबाट थोरै दूरीमा पुग्न सकिने टौदह धार्मिक आस्था, शान्तस्थल तथा मनोरञ्जन खोज्नेहरुका लागि आकर्षक स्थल हो ।

काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित टौदह केवल एउटा पोखरी होइन, यो हाम्रो सांस्कृतिक चेतना, धार्मिक आस्था र प्राकृतिक सम्पदाको प्रतीक हो । प्राचीन मान्यता अनुसार यो दह कर्कट नागको पवित्र निवासस्थान हो । मञ्जुश्रीले चोभार खोला फोडेर काठमाडौं उपत्यकाको पानी बाहिर निकालेपछि उपत्यकामा रहेका नागहरू टौदहमा आश्रय लिएर बसेका छन् भन्ने पौराणिक कथाहरूमा उल्लेख छ ।

यो दहलाई काठमाडौं उपत्यकाको सबैभन्दा ठुलो प्राकृतिक पोखरीको रुपमा लिइन्छ । प्राकृतिक सौन्दर्यलाई थप सौन्दर्यकृत बनाउन पोखरीको वरिपरि फलामको बारले घेरेर भ्रमणमा आउनेहरुका लागि सुरिक्षत बनाइएको छ । टौदह केवल स्थानीयहरूका लागि शान्त विश्रामस्थल मात्र नभइ आन्तरिक पर्यटन प्रवद्र्धनको दृष्टिले पनि महत्वपूर्ण गन्तव्य बनेको छ । छुट्टीको समयमा उपत्यका बाहिरबाटसमेत सर्वसाधारणहरु यस ठाउँमा आउने गरेका छन् । टौदह अत्यन्तै सुन्दर लागेको काठमाडौं उपत्यकाबाहिरबाट आउने आन्तरिक पर्यटकहरु बताउँछन् । टौदहको धार्मिक आस्थाका बारेमा थप अध्ययन गर्ने रहर जागेको उनीहरुको भनाइ छ ।

काठमाडौंको घनाबस्ती, शहरबजारको कोलाहल र प्रदूषणबाट केही समयको राहत खोज्नेका लागि टौदह आकर्षक विकल्प हो । छुट्टीको समयमा आफ्ना बालबालिकाहरुलाई घुमघाम गराउन टौदह उपयुक्त रहेको अभिभावकहरु बताउँछन् ।

सार्वजनिक बिदाको समयमा यहाँ ठूलो भीड लाग्ने गर्छ । स्थानीय व्यापारीहरूले दह वरिपरि माछालाई खुवाइने दाना बिक्री गरेर व्यवसाय सञ्चालनसमेत गरेका छन् । माछालाई दाना खुवाउँदै रमाउने बालबालिका र तस्बिर खिच्ने युवायुवतीका कारण सौन्दर्यता थपिन्छ । स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने माछाको दाना बिक्री गरेर मनग्गे आम्दानी हुने गरेको व्यवसायीहरु बताउँछन् ।

धार्मिक तथा प्राकृतिक मनाेरम स्थल टाैदहकाे संरक्षण र सम्बद्धर्न गर्न सराेकारवाला सबैले महत्व दिनु आवश्यक छ ।

Leave a Reply