कम्युनिष्ट पार्टीहरूबीच टुटफुट र एकताको संघर्ष जारी ! | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

कम्युनिष्ट पार्टीहरूबीच टुटफुट र एकताको संघर्ष जारी !

नेपालका कम्युनिष्ट पार्टीहरूमा टुट्फुट र एकता प्रक्रिया विगतदेखिनै निरन्तर जारी छ । मुख्य धार मानिएका ठूला कम्युनिष्ट पार्टीहरूबाट फुटेर विभिन्न नयाँ दलहरू गठन हुँदै आएका छन् । विगतमा नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेका थिए, तर सत्ता र शक्तिको लोभले त्यो एकता लामो समय टिक्न सकेन । अहिले पुनः एमाले र माओवादी केन्द्र कम्युनिष्ट एकताका लागि पहल गरिरहेका छन् ।

नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट पार्टीहरू अक्सर टुट्फुटको शिकार भइरहेका छन् तर एकताका लागि निरन्तर पहल पनि हुँदै आएको छ । नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी निर्माण भयो भने माओवादी केन्द्रबाट फुटेर आधा दर्जनभन्दा बढी विभिन्न नामका नयाँ दलहरू अस्तित्वमा आए । माओवादी केन्द्रबाट फुटेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विभिन्न दलहरू गठन र विघटन गर्दै आए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेबाट फुटेर एकीकृत समाजवादी गठन गरेका हुन् भने सीपी मैनालीको नेकपा माले पनि एमालेबाटै नयाँ अस्तित्वमा आएको पार्टी हो । त्यस्तै, मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टी पनि माओवादी केन्द्रबाट छुट्टिएको दल हो । समग्रमा हेर्दा नेपालमा साना ठुला गरी दर्जनौ कम्युनिष्ट नामका दलहरु अस्तित्वमा छन् ।

जेन जी आन्दोलनपछि दलीय आधारमा निर्माण भएको केपी शर्मा ओलीको सरकार सत्ताच्युत भएपछि हाल पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । सरकारले फागनु २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र कम्युनिष्ट पार्टी एकता गर्नुपर्नेमा जोड दिन थालेका छन् । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पार्टी छोडेर गएका नेताहरुलाई एमालेमै फर्किन आग्रह गरेका छन् । विभिन्न कारणले विगतमा पार्टी विभाजन गरी गएका नेताहरु फर्किएर पार्टीमा एकतावद्ध भइ कम्युनिष्ट शक्ति बलियो बनाउनु पर्ने उनको भनाइ छ ।

भर्खरैमात्रै केन्द्रीय कमिटी विघटन गरी अध्यक्ष पद त्यागेका नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी एकता आवश्यक रहेको बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र सफल बनाउन र जनताको मुद्दा अघि बढाउन वृहत वामपन्थी एकताको आवश्यकतामा जोड दिएका छन् । उनले केही कम्युनिष्ट पार्टीबीच निकट भविष्यमै एकताको तयारीसमेत भइरहेको बताए । देशको राजनीतिक संकट र राष्ट्रिय एकताको आवश्यकताका लागि कम्युनिष्ट पार्टीहरु एकतामा आउनुपर्ने उनको भनाइ छ ।

टुटफुट हुँदै आएको कम्युनिष्ट दलहरूबीच एकताको प्रयास जारी रहेको देखिन्छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि नेकपा एमाले र माओवादी केन्द्रका कतिपय युवा पुस्ताका नेताहरुले दुई पार्टीबीच एकताको सम्भावनाका विषयमा चर्चा गर्न थालेका छन् । नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीहरूको एकता र विभाजनको चक्र विगतदेखिनै चल्दै आएकाले हाल भइरहेको एकता प्रयासले पनि मूर्त रुप लिने सम्भावनामा भने शंका गर्न सकिन्छ ।

Leave a Reply