काठमाडाैं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डले चालु वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाइरहेको बताउनुभएको छ । शुक्रबार बोर्डमा सिनेमा क्षेत्रहरुमा कम्तिमा २० वर्ष काम गर्नुभएका चलचित्रकर्मीहरुलाई परिचयपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष दाहालले बोर्डले चलचित्रकर्मीहरुका लागि २० वर्ष काम गर्नेहरुलाई ७५ हजार र ३० वर्ष काम गर्नेहरुलाई एक लाखको जीवन बीमा गर्ने निर्णय भए अनुसार काम अघि बढाइरहेको बताउनुभयो ।
उहाँले बिरामी भइ उपचार गराएपछि चिकित्सकको हस्ताक्षरसहित ३५ दिनभित्रमा औषधिको बिल लिएर इन्स्योरेन्स कार्यालयमा जानुपर्ने भएकाले ३० दिनभित्र बोर्डमा आइसक्न पनि आग्रह गर्नुभयो । अन्य प्रकारका कार्यक्रमहरुको रकमलाई कटौती गरेर भएपनि त्यस काममा आफूहरु लागेको बताउनुभयो ।
उहाँले आफू बोर्डमा आएपछि चलचित्रकर्मीहरुका हक हितलाई ध्यानमा राखेर काम गरिरहेको बताउनुभयो ।





