तिहारका लागि दियो बनाउन भ्याइ नभ्याइ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

तिहारका लागि दियो बनाउन भ्याइ नभ्याइ

काठमाडाैं । तिहार नजिकिँदै गर्दा माटाको पाला तथा दियो बनाउन भ्याइ नभ्याइ भएको छ । कालो माटोबाट हातैले बनाइने पालाहरु सुकाएपछि आगोमा पोलेर तयार गरिन्छ, जसले नेपाली संस्कृतिको पुरानो परम्परा झल्काउँँछ । यो केवल बत्ती बाल्ने साधन मात्र होइन, नेपाली संस्कृति र कला झल्काउने परम्परागत प्रतीक पनि हो ।

पाला र दियो बनाउने चलन नेपालमा निकै पुरानो छ । पहिले पहिले दियो घरमै बनाइन्थ्यो, अहिले भने यो सिप परम्परागत रुपमा माटोका कलाकारहरुले जोगाइरहेका छन् । पाला दियो बनाउनका लागि विशेष किसिमको माटो प्रयोग गरिन्छ, जुन नदी नजिक वा ओसिलो जमिनबाट संकलन गरिन्छ । सबैभन्दा पहिले, हावा नबस्ने गरी माटोलाई राम्ररी मुछिन्छ । त्यसपछि कलाकारहरु आफ्नो हातकै सहयोगले विभिन्न आकारका दियो बनाउँछन् । मेशिनको प्रयोग हुदैन, सबै हातले नै तयार गरिन्छ, जसले यसलाई कलात्मक बनाउँछ । बनाइ सकेपछि पाला तथा दियोहरु घाममा सुकाइन्छ । घाममा सुकेका दियो तथा पालाहरुलाई बलियो बनाउन भट्टीमा राखिन्छ । माटो र इँटाले गोलो आकारमा बनाइएको भट्टी भित्र दियो तथा पालाहरु मिलाएर राखिन्छ र समानरुपले विशेष किसिमले तयार पारेको आगोको ताप दिइन्छ । आगोको तापबाट कडा र टिकाउ बनेपछि पाला तथा दियोहरु प्रयोगका लागि तयार हुन्छ ।

तर, डिजिटल युग र प्लास्टिकका आधुनिक बत्ती तथा भाँडाकुँडाको प्रयोग बढेसँगै यस पेशामा असर परेको छ । तर अहिले डिजिटल युगसँगै यो परम्परा चुनौतीपूर्ण पनि बनेको छ । बजारमा सजिलै पाइने प्लास्टिकका इलेक्ट्रिक झिलिमिली बत्तीहरुले माटोको पाला दियोको स्थान धमिल्याउँदै लगेका छन् ।

पाला तथा दियोहरु तिहारमा मात्र नभइ विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरुमा पनि प्रयोग गरिन्छ । यसले स्थानीय स्तरमा हस्तकला र घरेलु उद्योगको विकाससँगै पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुर्याएको छ । पर्यटकहरु विशेषगरी भक्तपुर, हरिसिद्धिजस्ता क्षेत्रमा पुगेर परम्परागत दियो तथा पालाहरु हेर्न र खरिद गर्न रुचाउँछन् ।

माटोको पाला तथा दियो तिहारको उज्यालो मात्र होइन, हाम्रो पहिचान र संस्कृतिको प्रतीक पनि हो । यो परम्परा जोगाउन सकिएन भने नेपालले एउटा मौलिक पहिचान गुमाउने निश्चित छ । त्यसैले, पाला तथा दियोलाई स्थानीय स्तरमा प्रोत्साहन दिनु, बजार विस्तार गर्नु र पर्यटनसँग जोड्नु आवश्यक छ ।

Leave a Reply