एजेन्सी । इजरायल र हमासबीच युद्धविराम भएसँगै गाजामा बन्दी बनाइएका जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएका २० जनाको सूचीमा नेपाली नागरिक विपीन जोशीको नाम समावेश भएको छैन । सम्झौताअन्तर्गत इजरायलले २२ जना अझै जीवित रहेको विश्वास गरेको थियो ।
यद्यपि बाँकी दुई जना जीवित बन्धकमा जोशी पनि हुनसक्ने आशा जीवितै छ । उक्त युद्धविराम सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न भएको हो ।
यी बन्धकहरू सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको ऐतिहासिक आक्रमणका क्रममा अपहरणमा परेका थिए । उक्त आक्रमणलाई इजरायलको इतिहासकै सबैभन्दा घातक घटना मानिन्छ ।
हमासको सशस्त्र शाखाले सोमबार आफ्नो टेलिग्राम च्यानलमार्फत रिहा हुने बन्धकहरूको नामावली सार्वजनिक गरेको छ । नामावलीमा समावेश २० जना मध्ये अधिकांशलाई हमासले गाजा पट्टीका विभिन्न स्थानमा बन्दी बनाएको थियो । तीमध्ये केही सैनिक, केही नागरिक र केही विदेशी नागरिकता भएका इजरायली रहेका छन् ।
रिहा हुने बन्धकहरूमा निम्न व्यक्तिहरू रहेका छन् : मतन एङ्ग्रेस्ट, गली र जिव बर्मन, एल्काना बोबोट, रोम ब्रास्लाभस्की, निम्रोद कोहेन, डेभिड र एरियल कुनियो, इभ्यातार डेभिड, गाइ गिलबोआ दलाल, म्याक्सिम हर्किन, इटन हर्न, सेगेव काल्फोन, बार कुपरस्टीन, ओमरी मिरान, एटान मोर, योसेफ हैम ओहाना, एलोन ओहेल, अविनातन ओर र मतन जाङ्गाउकर ।
यी सबै व्यक्तिहरू हमासद्वारा विभिन्न समयमा सार्वजनिक गरिएका भिडियोहरू र प्रत्यक्षदर्शी बयानहरूमा देखिएका थिए । उनीहरू मध्ये धेरैजना सुपरनोभा सङ्गीत महोत्सवका सहभागी, सैनिक वा सीमावर्ती क्षेत्रका बासिन्दा थिए ।
चौबिस वर्षीय नेपाली युवा विपीन आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए ।उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए ।





