काठमाडाैं । गत दुई दिनमा नेपालको इलामस्थित हिमाली गाउँमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत असोज १७ र १८ गतेको भीषण वर्षाले हिमाली गाउँको यसअघिको वर्षाको रेकर्ड ब्रेक गरेको हो ।
यसअघि हिमाली गाउँमा ३ सय २० दशमलव ६ मिलिमिटर वर्षा भएको थियो । तर यस वर्ष भने ३ सय ३२ दशमलव ६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताउनुभयो।
उहाँका अनुसार दोस्रो धेरै वर्षा भएको स्थान रौतहटको गौर हो । गौरमा यसअघि ३ सय १ दशमलव ५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३ सय १५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै धेरै वर्षा हुने स्थानको तेस्रो सूचिमा पर्साको वीरगञ्ज परेको छ । वीरगञ्जमा यस वर्ष २ सय ९४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यसअघि वीरगञ्जमा २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । त्यस्तै इलामकै इलाम टि—स्टेटमा २ सय ८० मिलिमिटर वर्षा भएको छ । यसअघि त्यहाँ २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । यि चार वटै स्थानमा विगतको तुलनामा वर्षाले नयाँ रेकर्ड ब्रेक गरेको हो ।
अहिले पनि देशभरका सबै स्थानहरुबाट मनसुन बहिर्गमन भइनसकेको उहाँको भनाइ छ । सबै मनसुन बहिर्गमन भइसकेपछि नेपालभरमा परेको पानीको वास्तविक तथ्यांक आउने जानकारी दिनुभयो । कतिपय स्थानमा सरदर भन्दा माथि र कतिपय सरदर र सरदर भन्दा कम पानी परेको छ ।
यी स्थानबाट बाहिरियो मनसुन
हालसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश,लुम्बिनी प्रदेशको पश्चिमी भूभाग र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरुबाट मनसुन बहिर्गमन भइसकेको बताउनुभयो । बाँकी प्रदेशहरुम पनि मनसुन बहिर्गमन भइरहेको बताउनुभयो । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रबाट पूर्ण रुपमा मनसुन बहिर्गमन भइसकेको छ । त्यस्तै लुम्बिनी प्रदेशको पूर्वी क्षेत्र, गण्डकी प्रदेशको पूर्वी क्षेत्र, वागमती, मधेस र कोशी प्रदेशमा अझै मनसुन सक्रिय छ ।
इलाम र काठमाडौंमा पूर्वानुमान विपरित वर्षा
वागमती र कोशी प्रदेशलाई खतरायुक्त स्थानमा राखिएको बताउनुभयो । तर इलामलाई उच्च खतराको सूचीमा नराखिएको भएपनि खतराको सूचीमा भने राखेर सचेत गराइएको बताउनुभयो । मनसुनले आफ्नो ट्रयाक परिवर्तन गर्दा इलाममा बढी वर्षा भइ बढी क्षति हुन पुगेको उहाँको भनाइ छ । रेड अलर्ट नराखेपनि इलाम हाई अलर्टमा राखेर केही सावधानी अपनाइएको बताउनुभयो । उहाँका अनुसार मनसुनले आफ्नो ट्रयाक परिवर्तन गरेर वागमतीबाट कोशी प्रदेशमा द्रुत गतिमा इलाम पुगेकाे कारण विपद् निम्तिएको हो ।
१०५ केन्द्रमा ५० मिलिमिटर भन्दा बढी वर्षा
उहाँका अनुसार १ सय ५ वटा केन्द्रहरुमा ५० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । ६८ वटा केन्द्रहरुमा एक सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ भने २१ वटा केन्द्रहरुमा २ सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ । त्यस्तै पाँच वटा केन्द्रहरुमा ३ सय मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ । उहाँका अनुसार अहिलको वर्षा बेमौसमी हो ।





