बागमती । बाढीपहिरोको जोखिम बढेकाले हेटौँडा–काठमाडौँ जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौँडा–काठमाडौँ जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ, हेटौँडा–भैँसे–फाखेल सडक र हेटौँडा–चित्लाङ–काठमाडौँ सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिएको छैन । हेटौँडा हुँदै काठमाडौँका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौँडाको चौकीटोल, भैँसे, पिप्लेमा रोकेको छ । सवारीसाधन सञ्चालन नहुँदा यात्रीहरू अलपत्र परेका छन् ।
हेटौँडा–काठमाडौँ जोड्ने कुनै पनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरुद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवाक्ता बोगटीले बताउनुभयो ।
यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आजदेखि असोज २० गतेसम्म अत्यन्त टाढा र राति यात्रा नगर्न आग्रह गर्नुभएको छ । उहाँले सबै जिल्लाबासीलाई सचेत रहन आग्रह गर्नुभएको छ ।





