नवरात्रकाे अन्तिम दिन, नवदर्गा भवानीकाे विशेष पूजा गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

नवरात्रकाे अन्तिम दिन, नवदर्गा भवानीकाे विशेष पूजा गरी मनाइँदै

काठमाडाैं । हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ ।  महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा नवमीमा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ ।

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । नवरात्रको अन्तिम दिन महानवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । सिद्धिदात्रीलाई नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिन्छ ।

नवरात्रको अन्तिम दिन असोज शुक्ल नवमीमा सिद्धिदात्री देवीको पनि विशेष पूजा आराधना गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ ।

यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि समितिले बिहीबार बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ । यसैबीच, प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा भक्तजनको भीड लागेको छ । वर्षमा एक पटक महानवमीको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिने भएकोले हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भिड लागेको हो ।

तलेजु मन्दिरमा ३ सय ६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मुल चोकमा ल्याइसकिएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मुल मन्दिरमा फर्काइने प्रचलन छ । विजया दशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ ।

Leave a Reply