‘सुरक्षा बिना विकास र निर्वाचन सम्भव छैन’ | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

‘सुरक्षा बिना विकास र निर्वाचन सम्भव छैन’

राजनीतिकशास्त्री तथा प्राध्यापक देवराज दाहालले भदौ २३ पछि निर्माण भएको देशको अवस्थालाई उच्चस्तरको राजनीतिक गतिशिलताको संज्ञा दिनुभएको छ । उहाँले विभिन्न पक्ष र समूहहरूले आफ्ना माग राखेर निरन्तर बार्गेनिङ गरिरहेको अवस्था देखिएको बताउनुभयो । हालैको युवा आन्दोलनले केवल सरकार मात्र नभई शासन प्रणालीमै परिवर्तन गरेको उहाँले दाबी गर्नुभयो । दाहालका अनुसार आन्दोलनले अघि सारेका मुख्य एजेण्डा चारवटा रहेका छन् । पहिलो–१९ जना युवाको मृत्युबारे छानबिन, दोस्रो–भ्रष्टाचार नियन्त्रण, तेस्रो–फागुनभित्र निर्वाचन सम्पन्न गर्ने र चौथो–सुशासनका लागि अनुकुल वातावरण तयार गर्नु हो ।

सुरक्षा बिना विकास र निर्वाचन सम्भव छैन ।
दाहालले सुशासनको आधारभुत पूर्वशर्त राष्ट्रिय तथा सार्वजनिक सुरक्षा भएको बताउनुभयो । सुरक्षा सुनिश्चित नगरी विकास, निर्वाचन र राजनीतिक प्रक्रियाहरू प्रभावकारी रूपमा अघि बढ्न नसक्ने उहाँको भनाइ छ । उहाँले सुरक्षालाई स्थिर बनाउन सकिएन भने अन्य सुधारका एजेण्डा व्यवहारमा लागू हुन असम्भव रहेको औंल्याउनुभयो । दाहालले राजनीतिक दल र राज्य संयन्त्रले सुरक्षालाई प्राथमिक एजेण्डा बनाएर मात्रै सुशासन, सुशासनसँग जोडिएका विकास योजनाहरू र लोकतान्त्रिक प्रक्रियाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउनसक्ने उल्लेख गर्नुभयो ।

दलहरूले सरकार र संवैधानिक अंग कब्जा गर्दा निष्पक्षता कमजोर
राजनीतिक दलले सरकारदेखि संवैधानिक अंगसम्म कब्जा गरेर निष्पक्षता कमजोर पारेको परिणाम स्वरुप आज यो अवस्था सिर्जित भएको राजनितिक विश्लेषक दाहालले बताउनु भयो । दलहरूले सत्ता मात्र नभएर व्यवस्था र राज्यका धेरै संवैधानिक संस्थाहरू समेत आपसमा बाँडफाँड गरेको उहाँको आरोप छ । सोही कारण ती संस्थाहरूले स्वतन्त्र रूपमा काम गर्न नसक्दा देशले विकासको गति लिन नसकेको उहाँको भनाइ छ ।

दलतन्त्र हाबी हुँदा देशमा शक्ति सन्तुलन बिग्रियो
मुलुकमा दलतन्त्र हाबी हुँदा शक्ति सन्तुलन र नेतृत्वमा समस्या बढेको उहाँले बताउनु भयो । राष्ट्रिय अखण्डता, सुशासन, शान्ति–सुव्यवस्था र लोकतन्त्रमा प्रतिकुल असर पारेको प्राध्यापक दाहालको भनाई रहेको छ । उहाँकाअनुसार पार्टी शब्द फ्रेन्च भाषाबाट आएको ‘पार्ट’ हो ‘होल’ होइन । तर जब पार्टले होललाई नियन्त्रण गर्छ, तब हात्तीको पुच्छरले हात्तीलाई थिचेजस्तो अवस्था सिर्जना हुन्छ । यसले जनतामाझ दबाबपूर्ण वातावरण सिर्जना हुने र युवा पुस्ता, श्रमिक, पढेका–लेखेका व्यक्ति र व्यापारीहरूले देश छाड्ने क्रम बढ्ने दाहालले औंल्याउनुभयो ।

दाहालका दृष्टिमा पनि अत्यधिक दलतन्त्रले मुलुकको विकास, स्थिरता र शान्ति प्रक्रियामा चुनौती सिर्जना गरेको बताउनु भयो ।

प्रविधिको प्रयोगले आन्दोलन सफल
मुलुकमा यो भन्दा अगाडि थुप्रै आन्दोलनहरु असफल भइरहेको अवस्थामा जेन—जी पुस्ताको आन्दोलन सफल हुनुको मुख्य कारण प्रविधिको प्रयोग भएको दाहालले बताउनुभयो । प्रविधिको प्रयोगले आन्दोलन सफल भएको उहाँको दाबी छ । यो पुस्ता प्रविधिको प्रयोगमा अब्बल रहेको भन्दै उहाँले आन्दोलनमा देशभर सूचनाको प्रवाह भएकाले सरकार परिवर्तन हुने स्थितिमा पुगेको बताउनुभयो ।

जेन-जी पुस्तालाई संगठित रुपमा अघि बढ्न सुझाव
उहाँले विशेषगरी जेनजी पुस्तालाई आफूलाई अनुशासनमा राखेर विवेकपूर्ण निर्णय लिन र राजनीतिक वातावरणमा सक्रिय हुन सुझाव दिनुभएको छ । दाहालले देशमा राम्रो वातावरण सृजना गर्नका लागि संगठित शक्तिका आवश्यक रहेको बताउनुभयो । त्यसका लागि पार्टी निर्माण गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

जेन-जी पुुस्ता पनि संगठित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यसले नयाँ पुस्तालाई सक्रिय बनाउने र पुराना दलहरूलाई सुधारतर्फ प्रेरित गर्ने जिकीर गर्नुभयो । यसले देशमा लोकतान्त्रिक प्रक्रियामा सुधार र युवा सहभागिता बढाउनेमा उहाँको भनाइ छ ।

Leave a Reply