दशैँकाे तेस्राे दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

दशैँकाे तेस्राे दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडाैं । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।  नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ ।

चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने जनविश्वास छ । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ। चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो।

चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ। अत्याचारी दानवी स्वरुपलाई नाश गर्ने चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ। गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन्।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत
गरिन्छ। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्ने गर्छ।

Leave a Reply