काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकभर छरिएर रहेका स्वास्थ्य सेवाहरु एकीकृत गर्न जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित सबै प्रकारका स्वास्थ्य सुविधासम्बन्धी कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा गाभ्न प्रस्ताव गर्नुभएकाे हाे ।
उहाँले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु छरिएका कारण नागरिकलाई सस्तो, सर्वसुलभ र विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको लक्ष्य पूरा हुन नसकेको उहाँको भनाइ छ । उहाँले स्वास्थ्य क्षेत्रमा धेरै ठूलो खर्च भएपनि त्यस अनुसारको परिणाम आउन नसकेको उहाँको भनाइ छ ।
स्वास्थ्य प्रणालीलाई एकीकृत गरेर प्रभावकारिता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले स्वास्थ्य बीमा बोर्डलाई केन्द्रीय निकायका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले पालिकादेखि संघसम्म सञ्चालित सबै स्वास्थ्य सेवा कार्यक्रम, सामाजिक सुरक्षा कोष र सञ्चय कोषबाट सञ्चालनमा रहेका स्वास्थ्य सुविधासमेत स्वास्थ्य बीमा बोर्डमा गाभ्न जरुरी रहेको बताउनुभयो ।
उहाँले मुलुकमा काम गर्ने वातावरण निर्माण गर्न नसक्दा स्वास्थ्य क्षेत्रका जनशक्तिहरु पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले सेवा सुविधाको अभाव तथा काम गर्ने वातावरण अभावका कारण स्वास्थ्यकर्मी विदेश पलायन भइरहेको उल्लेख गर्दै सरकारले यी समस्याहरुको समाधान हुनेगरी नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।





