काठमाडाैं । जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रकुमार महतोले आम मानिसको बुझाईमा विकासको वाधक वन मन्त्रालय रहेको भन्ने परेको बताउनुभएको छ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार बसेको बैठकमा भएको हाईड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले वन मन्त्रालयमाथि परेको यो भ्रमलाई चिर्न सक्नुपर्ने बताउनुभयो । नेपाललाई समृद्ध बनाउन पछिल्लो समय हाईड्रोपावरमा लगानी बढाउने क्रम बढेको उल्लेख गर्दै उहाँले त्यसमा वन मन्त्रालयले सहज गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले हाल धेरै लगानी भएका, लाईसेन्स पाइसकेर काम अगाडी बढेका जलविद्युत आयोजनाका कामहरु रोकिएको अवस्थामा रहेको बताउनुभयो । वन मन्त्रालयले यसमा केही सहज गरिदिन खोजे एनजिओ, आईएनजिओ मार्फत जनजीवन धानिरहेकाहरुले मुद्दा हाल्दिने चलन रहेको पनि उहाँको आरोप छ । मुद्दा परेपछि वन मन्त्रालयले पनि काम ठप्प पारेर बस्ने उहाँले बताउनुभयो ।





