वीरगञ्जमा हैजा प्रकाेप : स्राेत पहिचान नहुँदा नियन्त्रणमा समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

वीरगञ्जमा हैजा प्रकाेप : स्राेत पहिचान नहुँदा नियन्त्रणमा समस्या

haija

काठमाडाैं । पर्साको वीरगञ्जमा हैजा फैलिन थालेको एक साता हुँदा पनि हैजाको स्रोत अझै पहिचान नभएपछि त्रास उत्पन्न भएको छ । गत बिहीबारदेखि अस्पतालहरूमा झाडापखालाका बिरामी बढेकाेमा शुक्रबार हैजा पुष्टि भएपनि अझै स्रोत पहिचान हुन नसकेको हो ।

शनिबारदेखि नै हैजाको स्रोत पहिचान गर्ने प्रयास अझै सफल भएको छैन । स्वास्थ्य मन्त्रालयसहित विश्व स्वास्थ्य संगठन ड्ब्लयूएचओका प्रतिनिधिहरूले स्रोत खोज्ने प्रयास गरेका छन् । कुनै पनि सङ्क्रामक रोगको नियन्त्रणका लागि स्रोत पहिचान महत्त्वपूर्ण मानिन्छ ।

वीरगञ्ज महानगरपालिकामा हैजा प्रकोप फैलिएपछि शुक्रबारयता ६ सय १२ बढी बिरामी परिसकेका छन् । जसमध्ये २४ घण्टामा ८४ नयाँ बिरामी थपिएका छन् । हैजा पुष्टि भएको एक सातामा पर्साको वीरगञ्ज र पोखरियामा गरी एक सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगर क्षेत्रमा १ सय ३४ जना र पोखरियामा ७ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । अहिलेसम्म हैजा सङ्क्रमितको आरडीटी परीक्षणबाट पुष्टि गरिएको हो ।

अहिले सङ्क्रमितसहित तीन सय दश जनाको उपचार चलिरहेको छ । नारायणी अस्पतालको आकस्मिक कक्षमा बिरामी लम्पसार छन् । कोही पीडाले छट्पटाइरहेका छन् त कोही बेहोस जस्तै छन् आकस्मिक कक्षमा जम्मा २६ बेड छन् । तर दैनिक ५० भन्दा बढी त हैजा र भाडापखलाकै बिरामी आइरहेका छन् ।

अन्य रोगका बिरामीको भिडभाड पनि उस्तै छ । हाल वीरगञ्जका विभिन्न अस्पतालमा आईसीयूमा ३१, एचडीसीयूमा ६ र जनरल वार्डमा १४१ जना झाडापखाला र हैजाका बिरामी उपचाररत छन् । वीरगञ्ज महानगरपालिकापछि पर्सा र बारामा पनि हैजा संक्रमण पुष्टि भएको छ । संख्या घट्ने संकेत नै देखिएको छैन । बिरामी बढिरहेका छन् ।

यसैबीच, जनस्वास्थ्यविज्ञहरुले बिरामीको संख्या बढ्दै गएर नियन्त्रणबाहिर जाने संकेत देखिएकोले तत्काल स्वास्थ्य आपतकाल घोषणा गरिनुपर्ने सुझाव दिएका छन् । सरकारले हैजालाई स्वास्थ्य आपतकाल घोषणा गरेर उपचारमा निजी र सरकारी दुवै स्वास्थ्य संस्था संलग्न गराउनु पर्ने र उपचार र परीक्षणसमेत निःशुल्क गर्नुपर्ने जनस्वास्थ्यविद्हरुको सुझाव छ ।

Leave a Reply

ताजा समाचार